राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज यातायातले संचालनमा ल्यायो २४ विद्युतिय माइक्रो


eShilalekh

२१ माघ २०८१, सोमबार १७:५४

पथलैयाः राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज यातायात प्रालिले सोमबारदेखि विभिन्न रुटमा संचालन हुने गरी विद्युतिय यात्रुबाहक माइक्रो सेवा शुभारम्भ गरेको छ । पथलैयामा आयोजित एक कार्यक्रमकाबीच मल्टिप्रपोज यातायात प्रालिले सेवा शुभारम्भ गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र कि–टन कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले यातायात प्रालिका अध्यक्ष उदयबहादुर श्रेष्ठलाई चाबी हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

यातायात प्रालिले वीरगन्ज–काठमाडौं, ठोरी–काठमाडौं, गौर–काठमाडौं, लालबन्दी–काठमाडौं रुटमा यात्रुबाहक सेवा संचालन गर्न लागेको यातायात प्रालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यातायात प्रालिले अहिले कि–टन कम्पनीको १४ सिट क्षमता भएको २४ वटा गाडीबाट सेवा सुरुवात गरेको हो । आगामी दिनमा २६ वटा गाडी थप गरी ५० वटा पुर्याउने लक्ष्य रहेको श्रेष्ठले बताए ।

सुविधासम्पन्न गाडी, इन्टरनेटको व्यवस्था, तोकिएको समयमै गन्तव्यमा पुग्ने हुँदा यात्रुहरुलाई सहज हुने भन्दै श्रेष्ठले वातावरणमैत्री समेत भएकाले पनि आफूहरु सेवा संचालनका लागि उत्साहित भएको बताए ।

कि–टन कम्पनीका प्रबन्ध निर्देशक खतिवडाले विद्युतिय सवारीमा आकर्षण बढ्दो रहेको भन्दै भावी दिनमा पनि अन्य ठूला सवारीसाधन भित्राउन लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्