होली गार्डेनले उचाल्यो अन्तरविद्यालय महिला फूटबलको उपाधी

सिमरा: होली गार्डेन इङलिस स्कुल पथलैयाले दोस्रो विभूति अन्तरविद्यालय महिला फूटबल प्रतियोगिताको उपाधी जितेको छ । जीतपुरसिमरा १५ स्थित चारपाते मैदानमा सोमबार भएको फाइनल खेलमा सिमरा पब्लिक इङलिस स्कुललाई २-१ ले पराजित गर्दै होली गार्डेनले उपाधी जितेको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी होली गार्डेनकी रोजिता लामा घोषित भईन् । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार सिमरा पब्लिककी अनुष्का कार्कीले हात पारिन् ।

उपाधी विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, वडाध्यक्ष रामप्रसाद लामिछानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
एन प्याब्सन जीतपुरसिमराको आयोजना र डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको सहकार्यमा फागुन २ गते सुरु भएको प्रतियोगितामा आठ निजी विद्यालयले सहभागिता जनाएका थिए ।
राष्ट्रिय विभूतीका अध्यक्ष विदुर खड्काको अध्यक्षतामा सम्पन्न समापन समारोहको सहजीकरण प्रिन्सिपल किशोर श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य विभूति एजुकेसन नेटवर्कका निर्देशक श्यामप्रसाद भट्टराईले राखेका थिए ।