सिमरामा तालिमको नाममा ठगी गर्ने चारजना पक्राउ

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा तालिम सञ्चालनका नाममा ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ का सुमित पटेल, बीरगञ्ज महानगरपालिका २२ का सुमन साह, वीरगन्ज महानगरपालिका २३ का आर्यनकुमार दास र कावासोती नगरपालिका १४ की रिता सुनार रहेका छन् ।
युनिभर्सल भिजीनरी युथ इन्टरप्रेनरर्सका नाममा ठगी गरेको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । बीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बस्ने प्रदिप पटेल सहित ७ जनाले आफूहरु ठगीएको निवेदन ईलाका प्रहरी कार्यालय सिमरामा दिएपछि प्रहरीले उनीहरुलाई कार्यालयबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर यूवाहरुलाई त्यसमा जोडेर नेटवर्किङ व्यापारमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २८ का प्रदिप पटेलसंग एक लाख ५० हजार, रौतहट देवाही गोनाही नगरपालिका ७ का राम उजैन कुशवाहासंग ९० हजार, वीरगन्ज महानगरपालिका २२ का लालबाबु कुशवाहासंग ९० हजार, पर्साको बहुदरमाई नगरपालिका ६ का निकेशकुमार कुशवाहासंग ५५ हजार, पर्साको जगरनाथपुर गाउँपालिका ३ बस्ने संदिप यादवसंग २ लाख ८० हजार, बाराको सिम्रौनगढ नगरपालिका १० का रमेशकुमार बैठासंग ९० हजार, पर्साको पोखरीया नगरपालिका १ का उपेन्द्र पासवानसंग ९० हजार रुपैयाँ सो समुहले ठगी गरेको निवेदन ईलाका प्रहरी कार्यालय सिमरामा परेपछि प्रहरीले उनिहरुलाई कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले जानकारी दिईन ।