६२ लाख मूल्य बराबरको समानसहित ट्रक नियन्त्रणमा

सिमराः बिलबिजक भन्दा बढी समान ढुवानी गरेको आशंकामा प्रहरीले पथलैयाबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । राजमार्गमा सवारी जाँचका क्रममा प्रहरीले ६२ लाख मूल्य बराबरको समान बोकेको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले उक्त ट्रकलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ । वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना३ख ५४५५ नम्बरको उक्त ट्रकले बिलबिजक भन्दा बढी समान ढुवानी गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धानका लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त ट्रकले मोबिल, अबिर, ब्याट्री, कपडा र खुद्रा समान ढुवानी गरेको थियो । उक्त समानको मूल्य करिब ६२ लाख ३५ हजार रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन् ।