जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञ हुने


eShilalekh

१४ फाल्गुन २०८१, बुधबार १७:५०

सिमराः बाराको जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञ हवन तथा पुराण कथा आयोजना हुने भएको छ । जीतपुरसिमरा हिन्दु समाजले बिहीवारदेखि आइतबारसम्म चार दिन कुण्डीय महायज्ञको आयोजना गर्न लागेको हो ।

हिन्दु समाजले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जीतपुरको केरा ढोकास्थित बंगाली बाबा धर्म युग आश्रम परिसरमा महायज्ञ आयोजना हुने जानकारी दिएको छ । महायज्ञको शुभारम्भ गर्न बिहीवार बिहान ८ बजे जीतपुरमा कलश यात्रा आयोजना गरिएको समाजका अध्यक्ष सन्तोष कुशवाहाले जानकारी दिए ।

कुशवाहाले फागुन १६, १७ र १८ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हवन गरिने र साँझ ५ बजेदेखि ९ बजेसम्म प्रवचन तथा भजन किर्तनको समय रहने बताए । कुशवाहाले महायज्ञका लागि करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । स्थानीय स्तरमा इच्छुक व्यक्तिको दान र सहयोगबाट महायज्ञ आयोजना हुने कुशवाहाले बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रीराम साह कानु, सचिव अमर यादव, कोषाध्यक्ष राकेश गुप्ता, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, स्थानीय अगुवा शिवजी प्रसाद साह, राजुराज गिरी, शेखर भण्डारीलगायतको उपस्थिती रहेको थियो ।

सकारात्मक उर्जा, मानसिक शान्ति र वातावरणीय सन्तुलनका लागि गायत्री कुण्डीय महायज्ञको आयोजना गर्न लागिएको आयोजकको भनाई छ । आयोजकले कलश यात्रा र महायज्ञमा सहभागी हुन आहवान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्