धनुषामा युवकको हत्या गरेको आरोपमा एक महिला पक्राउ


eShilalekh

१५ फाल्गुन २०८१, बिहीबार १८:१६

धनुषाः धनुषाको मिथिला बिहारी नगरपालिका २ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव धनुषाको कमला नगरपालिका ६ सिग्याही मडानका ३३ वर्षीय शहिद अन्सारीको रहेको छ ।

अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

अन्सारी नेपाल आएसँगै मंसिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए । हत्या पश्चात शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो ।

माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो ।

अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ । राजकिशोर यादव हत्या पछि साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए । उनलाई नेपाल फर्काउन कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्