पर्सा प्रहरीद्वारा ७६ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ

सिमराः पर्सा प्रहरीले ७६ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका ४ भथौराका १९ वर्षीय अर्जुन महतो र पटेर्वासुगौली गाउँपालिका १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले नौकाटोलबाट जितपुरतर्फ पैदल आउँदै गरेका महतोमाथी शङ्का लागेर जाँच गर्दा उनले बोकेको कालो प्लास्टिकको झोलामा ४६ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले जानकारी दिए ।
यसैगरी नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोस्ट भाठा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको संयुक्त टोलीले पटेर्वासुगौली गाउँपालिका १ को पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र भाठा मन्दिरबाट सिकारी बाँसतर्फ पैदल आउँदै गरेका असलम अन्सारीमाथी शङ्का लागेर जाँच गरेको थियो । जाँच गर्ने क्रममा अन्सारीले टाउकोमा बोकेको बोराभित्र लुकाई छिपाइ राखिएको ३० किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजना माथि लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।