बारामा पहिलो पटक स्ववियु निर्वाचन हुँदै, गौरीशंकर क्याम्पसमा तीन संगठनले गराए दर्ता


eShilalekh

१९ फाल्गुन २०८१, सोमबार १६:२८

सिमराः बाराको निजगढस्थित गौरीशंकर क्याम्पसमा पहिलो पटक त्रिभूवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । चैत ५ गते हुने निर्वाचनका लागि सोमबार संगठन दर्ता गरिएको छ ।

केन्द्रीय अनुगमन तथा समन्वय समितिको कार्यतालिका वमोजिम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले संगठन दर्ता गराएका छन् । अनेरास्ववियु नेकपा एमाले, नेविसंग नेपाली कांग्रेस र क्रान्तिकारी नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन हो ।

अनेरास्ववियुले पहिलो नम्बरमा, नेविसंघले दोस्रो नम्बर र क्रान्तिकारीले तेस्रो नम्बरमा संगठन दर्ता गराएका हुन् । केन्द्रीय अनुगमन तथा समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार दर्ता भएका संगठन मात्रै स्ववियु निर्वाचनमा सहभागी हुन सक्नेछन् । केन्द्रीय अनुगमन तथा समन्वय समितिले सोमबार ३ बजेसम्मका लागि संघ, संगठन, समूह दर्ताका लागि समय तोकेको थियो ।

बारामा पहिलो पटक गौरीशंकर क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । निर्वाचनमा सहभागी हुने मतदाताको नामावली टुंगिन बाँकी छ । निर्वाचन अधिकृत गोविन्द अधिकारीले मतदाताको नामावली टुंगिन बाँकी रहेको बताए । स्नातक तहदेखि माथिका छात्रछात्रा निर्वाचनमा सहभागी हुन पाउनेछन् । उक्त क्याम्पसमा स्नातक तहदेखि माथि चार सय ६८ छात्रछात्रा छन् ।

यस्तो छ निर्वाचन तालिकाः
केन्द्रीय निर्वाचन तालिका अनुसार फागुन १९ गते संगठन दर्ता, फागुन २१ गते मतदाता नामावली सार्वजनिक, फागुन २५ गते मतदाता नामावलीमा दाबी विरोध, फागुन २६ गते मनोनयनपत्र वितरण, फागुन २७ गते मनोनयन दर्ता, फागुन २८ गते उम्मेदवारको नामावलीमा दाबी विरोध, फागुन २९ गते उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

निर्वाचन भने चैत ५ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । निर्वाचनका लागि फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाइनेछ । चैत २ गते राति १२ बजेपछि मौन अवधी सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्