अढाई किलो लागूऔषध अफिमसहित दुई जना पक्राउ

सिमराः प्रहरीले अमलेखगञ्जबाट अढाई किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको प्रहरी टोलीले राजमार्गमा सवारी जाँचका क्रममा उनिहरुलाई अफिमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ३ का ५० वर्षीय सञ्चलाल वाइवा र मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४८ वर्षीय हिरालाल वाइवा रहेका छन् । हेटौंडाबाट प्र.३–०३–००२ प ८११ नम्बरको मोटरसाइकल लिएर वीरगन्जतर्फ जाँदै गरेका उनिहरुलाई प्रहरी वरिष्ठ नायब निरीक्षक टेकहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार उनिहरु सवार मोटरसाइकलको सिट मूनिबाट दुई किलो पाँच सय ग्राम अफिम बरामद भएको छ । पक्राउ परेका उनिहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।