व्हिनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५९ जनाले गरे रगतदान

सिमराः समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) ले बुधबार परवानीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा १२ महिलासहित ५९ जना श्रमिकले रगत दान गरेका छन् ।
नेपालको ट्रेड यूनियन आन्दोलनको ७८औं वार्षिकोत्सवको अवसर पारेर व्हिनले वीरगन्ज २१ परवानीपुरस्थित ब्रिटानिया नेपाल प्रा.लि. परिसरमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा रेडक्रस सोसाइटी वीरगन्ज शाखाले प्राविधिक सहयोग गरेको थियो ।
व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्हिन प्रदेश कमिटीका उपाध्यक्ष रामतप्सी साह, उद्योगका प्रशासन प्रमुख विनोद साह र रेडक्रस सोसाइटी वीरगन्जकी दिलमाया घिमिरेलगायतको उपस्थिती रहेको थियो । ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको सहजीकरण राकेश ठाकुरले गरेका थिए भने स्वागत मन्तव्य मनिषकुमार चौहानले राखेका थिए ।