भारतबाट पोल्ट्रीजन्य वस्तु भित्रिन नदिन मुख्यमन्त्री सिंहको निर्देशन

सिमराः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बुधवार भारतबाट अवैधरुपमा भित्रिने पोल्ट्रीजन्य वस्तु आयात र विक्रीवितरण पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् । अवैधानिक ढंगले संचालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन मैदानमै उत्रिएर काम गरिरहेका मुख्यमन्त्री सिंहले सुरक्षा निकायका प्रमुख र सरोकारवालालाई उक्त निर्देशन दिएका हुन् ।
वर्ड फ्लूको जोखिमकाबीच भारतबाट खुलेयाम सेतो अण्डा, कुखुरा, चल्लालगायतका वस्तु भित्रिनुका साथै नेपाली बजारमा बिक्री भईरहेको सूचना पाएपछि मुख्यमन्त्री सिंहले सरोकारवाला निकायको बैठक राखेका हुन् । जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा भएको बैठकमा मुख्यमन्त्री सिंहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुखसहित सरोकारवाला निकायलाई सीमा क्षेत्रमा कडाई गरेर पोल्ट्रीजन्य वस्तु भित्रिन नदिन र विक्रीवितरण बन्द गर्न निर्देशन दिएको नेपाल भेटरीनरी एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष डा. शितलकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
मुख्यमन्त्री सिंहले सीमा नाका र सम्भावित क्षेत्रमा दुवै सुरक्षा निकायबाट कडा जाँच गर्न र भारतबाट अवैधरुपमा आयात गरिएका पोल्ट्रीजन्य वस्तुलाई नियन्त्रणमा लिई तत्काल नष्ट गर्न निर्देशन दिएका थिए । बैठकमा नेपाल प्रहरीका प्रदेश प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक काली दास धौबजीलगायत उपस्थित थिए ।
वैठकमा नेपाल प्रहरीका मधेस प्रमुख आचार्यले पोल्ट्रीजन्य वस्तु आयात र विक्रीवितरणमा रोक लगाउन तत्कालै काम गरिने बताएका छन् । आचार्यले सीमा नाका तथा बजार क्षेत्रमा सचेतना र कारवाहीका कार्यक्रम संगसंगै अघि बढाईने बताएका थिए । सशस्त्र प्रहरी बलका प्रमुख धौबजीले सीमा नाकामा कडाई गरिने बताएका छन् ।
बैठकमा नेपाल कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले भारतबाट अवैधरुपमा भित्रिरहेको पोल्ट्रीजन्य वस्तुका कारण स्वास्थ्यसंगै व्यवसायी र किसानको व्यवसाय समेत संकटमा परिरहेको बताएका थिए । सस्तो मूल्यमा भारतबाट भित्रिने अण्डा, कुखुराबाट वर्ड फ्लू फैलिने सम्भावना अत्यधिक रहने र वर्ड फ्लू फैलिए नेपालका किसानले गर्दै आएको व्यवसाय धरासायी बन्ने खतरा धेरै रहेको पोखरेलको भनाई थियो । कुखुरा पालनमा निर्भर किसान र व्यवसायीको व्यवसाय सुरक्षीत गर्नुका साथै मानव स्वास्थ्यसंग जोडिएको विषयमा गम्भीर भएर लाग्न पोखरेलले अनुरोध गरेका थिए ।
यसअघि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसंग भेट गरेर ध्यानाकर्षण गराएका कुखुरा पालक व्यवसायीले मुख्यमन्त्री सिंहलाई भेटेर यस विषयमा पहल गरिदिन आग्रह समेत गरेका थिए । व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सरोकारवाला निकायको बैठक बोलाएका हुन् ।