एनआरएनए टेक्सास च्याप्टरको आयोजनामा अन्तर्क्रिया सम्पन्न

टेक्सास (अमेरिका): एनआरएनए टेक्सास च्याप्टरले डालासको युलेसमा ट्रम्प प्रशासनको पछिल्लो आप्रवासन नीति बारे अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । न्यूयोर्कका कानून व्यवसायी बासु फुलाराको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कानून व्यवसायी फुलाराले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा अपनाएको कदमका विषयमा उठेका जिज्ञासाको जवाफ दिएका थिए । कानून व्यवसायी फुलाराले सामाजिक सन्जालका कुराको पछि लाग्नु भन्दा अमेरिकी अध्यागमन कानूनको बारेमा जानकारी लिन सुझाव दिएका थिए ।
अमेरिकामा सन् १९९० देखि लागू भएको अध्यागमन सम्बन्धी कानुनमा परिवर्तन नभएको बताउँदै फुलाराले ट्रम्प प्रशासनले कानुन परिवर्तन भन्दा पनि विधमान अध्यागमन कानून कार्यान्यवनमा कडाई गरेको बताए । आप्रवासन नीति भित्र नपर्नेलाई अहिलेको प्रशासनले घर फर्काउने फुलाराको भनाई थियो ।
एनआरएन टेक्सास च्यापटरका अध्यक्ष दीपेन्द्र गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन आईसिसिका महासचिव गौरीराज जोशी, एनआरएनए एनसिसिका उपाध्यक्ष नेत्र पाण्डे, भानु खरेल, कोषाध्यक्ष सरोज सिग्देल, हिमालयन्स स्पोर्टस् लायन्स क्लबका अध्यक्ष राजेश अधिकारीलगायत ४० जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण एनआरएन टेक्सासका महासचिव निश्चल चापागाईंले गरेका थिए ।