अमलेखगञ्जबाट अफिमसहित फेरि दुई जना पक्राउ, एक महिनामै समातियो ३३ किलो अफिम

सिमराः अमलेखगञ्जबाट प्रहरीले बुधवार पनि दुई किलो भन्दा बढी लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाइकलबाट अवैधरुपमा अफिम लगिरहेका दुई व्यक्तिलाई अमलेखगञ्जको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका १ का २७ वर्षीय सुनिल मोक्तान र भिमफेदी गाउँपालिका ३ का २० वर्षीय हर्क रुम्बा रहेका छन् । मोक्तान मोटरसाइकल चालक हुन भने रुम्बा पछाडी सवार थिए ।
हेटौंडाबाट प्रदेश ०३–००३प ३१२६ नम्बरको मोटरसाइकल लिएर वीरगन्ज जाँदै गरेका बेला प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरु सवार मोटरसाइकलको सिट मूनीबाट प्रहरीले दुई किलो ४१ ग्राम अफिम बरामद गरेको छ ।
अमलेखगञ्ज प्रहरीले यसअघि मंगलबार पनि अढाई किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ३ का ५० वर्षीय सञ्चलाल वाइवा र मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४८ वर्षीय हिरालाल वाइवा थिए ।
प्रहरीले जीतपुरसिमराको राजमार्ग क्षेत्रबाट एक महिनामै ३३ किलो भन्दा बढी अफिम बरामद गरिसकेको छ भने कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यसअघि माघ २१ गते सिमराबाट तीन किलो ४४ ग्रामसहित एक जना, माघ २९ गते सिमराबाट १३ किलोसहित दुई जना, माघ ३० गते अमलेखगञ्जबाट चार किलोसहित दुई जना, फागुन १ गते अमलेखगञ्जबाट पाँच किलोसहित एक जना, फागुन १३ गते अमलेखगञ्जबाट डेढ किलोसहित एक जना, फागुन १८ गते पथलैयाबाट अढाई किलोसहित एक जनालाई पक्राउ गरेको थियो ।