बारा र रौतहट मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप छनौट क्रिकेटको फाइनलमा

सिमराः बारा र रौतहट मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कलैया र वीरगन्जमा विहीबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टोली फाइनलमा प्रवेश गरेको हो ।
कलैयाको सिद्धेश्वर खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बाराले धनुषालाई ८१ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको बाराले ४८.३ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रन जोडेको थियो ।
बाराका लागि पवन सर्राफले सर्वाधिक ९३ रन बनाए । प्लेयर अफ दि म्याच घोषित पवनले ८३ बलमा ९ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी अरनिको यादवले २७, रवि साहले २३ र कप्तान अनिलकुमार साहले १३ रन जोडे । धनुषाका रुपेश यादवले पाँच विकेट लिए भने हरिशंकर साहले तीन विकेट लिएका थिए ।
बाराले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको धनुषा एक सय ३२ रनमै समेटियो । धनुषाका मयन यादवले २२, रंजित यादवले २०, सञ्जन यादव र रुपेश यादवले १८/१८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् । बाराका कमल गुप्ताले पाँच र निखिल सिंहले चार विकेट लिए ।
वीरगन्ज नारायणी क्रिकेट रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहटले सिरहालाई १७ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको रौतहटले २७.३ ओभरमा सबै विकेट गुमाएर एक सय दुई रन जोडेको थियो । रौतहटका लागि सन्नी साहले २३ रन बनाए भने प्रिन्स यादव, डब्लु मलिक र राज पटेलले समान १५/१५ रन बनाएका थिए । सिरहाका प्रदीप पासवानले ६ विकेट लिए भने रुपेश सिंहले तीन विकेट हात पारे ।
रौतहटले दिएको एक सय तीनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सिरहा ८५ रनमै समेटियो । सिरहाले २९.५ ओभरमै आफ्नो सबै विकेट गुमाएको थियो । सिरहा दीपेश दासले २० रन बनाउँदा अन्य ब्याटरले सम्मानजनक प्रदर्शन गर्न सकेनन् । रौतहटका मोहन घिमिरेले चार, अरविन्द बैठाले तीन र डब्लु मल्लिकले दुई विकेट लिए । चार विकेट लिएका मोहन प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार वीरगन्जमा हुनेछ । प्रतियोगितामा मधेसको आठ वटै जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट १५ जना खेलाडी मधेस प्रदेश टिमका लागि छनौट गरिने मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए । छनौट भएको टिमले लुम्बिनीमा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।