बाराले उचाल्यो प्रदेश स्तरीय छनौट क्रिकेट प्रतियोगिताको उपाधि


eShilalekh

२३ फाल्गुन २०८१, शुक्रबार २१:३४

सिमराः बाराले मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप छनौट पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रौतहटलाई ३६ रनले पराजित गर्दै बाराले उपाधि जितेको हो ।

नारायणी खेल मैदानमा शुक्रवार टस जितेर पहिले गरेको बाराले ३५.१ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन जोडेको थियो । बाराका कप्तान समेत रहेका राष्ट्रिय खेलाडी अनिलकुमार साहले ४५ रन बनाए भने पर्वन सर्राफले ३३ रन जोडे ।
रौतहटका मोहन घिमिरेले ८.१ ओभरमा ३७ रन खर्चिएर पाँच विकेट लिए । अरविन्द बैठाले तीन र डब्लु मल्लिकले दुई विकेट लिए ।

एक सय ४८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको रौतहट ३३.२ ओभरमा एक सय ११ बनाएर अलआउट भयो । रौतहटका लागि राज पटेलले ४३ र डब्लु मल्लिकले २१ बनाए ।

बाराका कप्ताल अनिलले चार विकेट लिए । उनि प्लेयर अफ दि म्याच घोषित भए । कमल गुप्ताले तीन, निखिल सिंहले दुई र अरनिको यादवले एक विकेट लिएका थिए ।

कलैयाको सिद्धेश्वर र वीरगन्जको नारायणी खेल मैदानमा आयोजित प्रतियोगितामा मधेसका आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट प्रधानमन्त्री कप खेल्ने १५ सदस्यीय मधेस प्रदेशको टिम छनौट हुनेछ ।

प्रधानमन्त्री कप आइतवारदेखि भैरहवा, बुटवल र दाङमा सुरु हुँदैछ । मधेस प्रदेश क्रिकेट संघले बनाएको चयन समितिले १५ जना खेलाडी चयन गर्ने कोषाध्यक्ष सुवास जयवालले जानकारी दिए । प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभागिय गरी १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । मधेस प्रदेशले आफ्नो पहिलो खेल फागुन २७ गते कोशी प्रदेशसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्