मधेश प्रदेश लगायत देशका पाँच वटा प्रदेशमा हावाहुरीको सम्भावना


eShilalekh

३ चैत्र २०८१, आईतवार १३:३६

सिमराः मधेश प्रदेश लगायत देशका पाँच वटा प्रदेशका केही स्थानमा आज हावाहुरी चल्ने सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदली अनि बाँकी भागमा मौसम सफा छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा आज बिहान मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा समेत भएको छ । ती क्षेत्रका केहि स्थानमा दिउँसो पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रको केहि स्थानमा हल्का हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन समेत मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्