वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन सुरु

सिमराः वीरगञ्ज सुक्खा बन्दरगाहमा आईतबारदेखि ट्याङ्क कन्टेनर आउन सुरु भएको छ । कच्चा तेल बोकेको कन्टेनर रेल पहिलो पटक सुक्खा बन्दरगाहमा आएको हो ।
बाराको जीतपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रा.लि ले खरिद गरेको सोयाविन तेलको कच्चा पदार्थ बोकेको ट्याङ्क कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो ।
२० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा बिस हजार मेट्रिक टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो ।

सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी भाडमा औसत १५ प्रतिशत बचत हुने कुरा तेल आयात कम्पनीका पदाधिकारीहरुले बताएका छन् ।
सुक्खा बन्दरगाहमा कच्चा तेल आउन सुरु भएपछि वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने भएको छ । ट्याङ्क कन्टेनर पूर्णरुपमा सिल भएर आउने भएकाले सुरक्षित रूपमा आयात हुने भएको छ ।
ट्याङ्क कन्टेनरको सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्नुको साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।