मधेस प्रदेश सरकार एसइई परिक्षा संचालनको सम्पूर्ण प्रक्रियाबाट बाहिर

सिमराः मधेस प्रदेश सरकार एसईईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ ।
बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् ।
मंगलबार मुख्यमन्त्री सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलन गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिए । प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाईलगायत शैक्षक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
एसईई परिक्षा समाप्त हुनासाथ शिक्षा अधिकारीलगायत निकायहरुमा अनुगमन गर्नुका साथै तालाबन्दी गर्ने मुख्यमन्त्री सिंहले चेतावनी समेत दिएका छन् ।