शिक्षक सरुवाः गुणस्तर सुधार कि शिक्षण अस्थिरता ?

कृष्ण अधिकारी
नेपालमा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने प्रयास निरन्तर भइरहेका छन् । तर, केही सुधारका प्रयासले अपेक्षित नतिजा दिनुको साटो थप समस्या सिर्जना गरिरहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उदेश्यले शिक्षक सरुवा गर्दै आएको छ । तर, यस प्रक्रियाले शिक्षकहरूको मनोबल खस्कदै गएको, विद्यार्थीहरूको सिकाइ प्रक्रियामा अवरोध सिर्जना भएको, र विद्यालय व्यवस्थापनमै अस्थिरता आएको पाइएको छ ।
तसर्थ, शिक्षक सरुवा प्रक्रिया किन आवश्यक हुन्छ ? यसको हालको अवस्था के छ ? यसको प्रभाव कस्ता छन् । र यसको दीर्घकालीन समाधान के हुन सक्छ ? यी सबै विषयमा गहिरो विश्लेषण आवश्यक छ ।
१. शिक्षकको मनोबलको गिरावटः
शिक्षकहरू कुनै पनि विद्यालयमा लामो समयसम्म कार्यरत हुँदा त्यहाँको शैक्षिक वातावरण, विद्यार्थी, अभिभावक तथा व्यवस्थापनसँग राम्रो सम्बन्ध बनाइसकेका हुन्छन् । उनीहरूले विद्यालयको आवश्यकतालाई बुझिसकेका हुन्छन् । आफ्ना शिक्षण शैलीहरू स्थापित गरिसकेका हुन्छन् । र विद्यार्थीहरूसँग भावनात्मक सम्बन्ध समेत बनाइसकेका हुन्छन् ।
तर, जब शिक्षकहरूलाई बारम्बार सरुवा गरिन्छ, उनीहरू आफ्नै विद्यालयको वातावरणमा घुलमिल हुन सक्दैनन् । यसले उनीहरूको आत्मविश्वास र कार्यसम्पादन क्षमतामा नकारात्मक असर पर्दै जान्छ ।
लामो समय बसेका शिक्षकलाई एक्कासी नयाँ ठाउँमा पठाउँदा उनीहरूलाई नयाँ विद्यार्थी, नयाँ पाठ्यक्रम, र नयाँ वातावरणसंग घुलमिल हुन समय लाग्छ । नयाँ विद्यालयमा शिक्षण शैलीलाई पुनः समायोजन गर्नुपर्दा शिक्षकहरूको कार्यक्षमतामा ह्रास आउन सक्छ । शिक्षकहरूमाझ हाम्रो स्थान स्थायी होइन भन्ने भावना बढ्ने जोखिम उत्तिकै हुन्छ । जसले गर्दा उनीहरू विद्यालयमा दीर्घकालीन योगदान गर्न चाहँदैनन् ।
धेरैजसो शिक्षकहरू विद्यालय व्यवस्थापनसँग असहयोगी बन्न सक्छन् किनभने उनीहरूलाई जुनबेला पनि सरुवा हुन सक्ने डर मनमा रहिरहेको हुन्छ । शिक्षकहरू कुनै पनि विद्यालयको मेरुदण्ड हुन् । उनीहरूको आत्मविश्वास कमजोर भएमा त्यसले विद्यालयको शिक्षा प्रणालीलाई कमजोर बनाउँछ । तसर्थ, शिक्षकहरूको मनोबल उच्च राख्नु अत्यन्त आवश्यक छ ।
२. विद्यार्थी सिकाइमा असरः
विद्यालयमा शिक्षकको स्थिरता विद्यार्थीहरूको सिकाइ प्रक्रियाको एक महत्वपूर्ण पक्ष हो । शिक्षकले आफ्नो पाठ्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउने क्रममा विद्यार्थीले पनि सहज रूपमा सिक्न पाउँछन्न् । तर, शिक्षकको बारम्बार हुने सरुवाले यो निरन्तरता भंग गर्छ ।
शिक्षक–विद्यार्थी सम्बन्ध कमजोर हुन्छ:
विद्यार्थीहरू आफ्ना शिक्षकहरूसँग भावनात्मक रूपमा जोडिएका हुन्छन् । जब एक शिक्षक विद्यालय छोड्छन् । विद्यार्थीहरूलाई नयाँ शिक्षकसँग घुलमिल हुन समय लाग्छ । खासगरी सानो उमेरका बालबालिकाहरूलाई नयाँ शिक्षकको शैली बुझ्न गाह्रो हुन सक्छ । किशोरावस्थाका विद्यार्थीहरू पनि आन्तरिक रुपमा अस्थिर हुने भएकाले शिक्षकमाथि विश्वास बढाउने समय नै हुँदैन ।
एसईई तयारी गर्ने विद्यार्थीहरू बढी प्रभावित हुन्छन्:
बोर्ड परीक्षा (एसईई) जस्ता महत्वपूर्ण परीक्षाहरूको तयारी गरिरहेका विद्यार्थीहरूलाई नियमित शिक्षकको आवश्यक पर्छ । जब शिक्षक परिवर्तन हुन्छन् । विद्यार्थीहरूको सिकाइ प्रक्रिया अवरुद्ध हुन सक्छ । परीक्षा नजिकिँदै गर्दा गरिएको शिक्षक सरुवाले विद्यार्थीहरूको तयारीमा गम्भीर असर पार्न सक्छ ।
शिक्षक–शिक्षण शैलीमा भिन्नता आउँछ:
प्रत्येक शिक्षकको आफ्नै विशेष शिक्षण शैली हुन्छ । कुनै शिक्षकहरू व्यावहारिक तरिकाले पढाउँछन् भने केही शिक्षकहरू परम्परागत शैली प्रयोग अपनाउँछन् । विद्यार्थीहरू एक शिक्षकको शैलीमा बानी परेका हुन्छन् । नयाँ शिक्षकको शैली बुझ्न समय लाग्छ । यसरी शिक्षक सरुवा गर्दा विद्यार्थीहरूको सिकाइ प्रक्रियामा हुने असरलाई कम गर्न आवश्यक छ ।
३. सरुवा प्रक्रिया पारदर्शी अनिवार्य छैनः
शिक्षक सरुवा नीति कस्तो हुनुपर्छ भन्ने विषयमा विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र समुदायबीच प्रष्टता छैन । धेरैजसो अवस्थामा सरुवा प्रक्रियामा पारदर्शिता नदेखिने गुनासो उठ्ने गरेको छ ।
राजनीतिक प्रभाव रहेको आशंका:
कतिपय सरुवा शिक्षकको योग्यता भन्दा पनि राजनीतिक पहुँचका आधारमा हुने गरेको पाइन्छ । पहुँच भएका शिक्षकहरू सरुवा प्रक्रियामा हस्तक्षेप गर्न सक्छन् ।
सरोकारवालासँग छलफल नगरी सरुवा गरिन्छ:
विद्यालय व्यवस्थापन समिति, शिक्षक संघ, र विद्यार्थी प्रतिनिधिसंग पर्याप्त छलफल नगरी शिक्षकहरू सरुवा गरिन्छ । शिक्षक स्वयंलाई पनि पर्याप्त जानकारी नदिई एक्कासी सरुवा गरिन्छ, जसले उनीहरूलाई मानसिकरुपमा कमजोर बनाउँछ । सरुवा प्रक्रियालाई पारदर्शी बनाउन सबै पक्षसँग छलफल गरी स्पष्ट नीति निर्माण गर्नुपर्छ ।
४. विद्यालय व्यवस्थापनमा असहजताः
विद्यालय प्रशासनले विद्यालय सञ्चालनमा स्थिरता आवश्यक हुन्छ । जब शिक्षकहरूलाई बारम्बार सरुवा गरिन्छ, विद्यालय व्यवस्थापनका विभिन्न पक्षहरू असहज बन्छन् । विषय शिक्षकको अभाव हुन सक्छ । सरुवा गर्दा केही विद्यालयमा आवश्यक शिक्षक नै नहुन सक्छन् ।
जस्तैः गणित शिक्षक सरुवा भएमा त्यही विषयको अर्को शिक्षक विद्यालयमा नआएसम्म विद्यार्थीहरूले त्यो विषय पढ्न पाउँदैनन् ।
नयाँ शिक्षकलाई समायोजन गर्न समय लाग्छ:
विद्यालयको नीति, नियम, पठनपाठनको तरिका बुझ्न नयाँ शिक्षकलाई समय लाग्छ । विद्यालय प्रशासनले बारम्बार नयाँ शिक्षकहरूलाई निर्देशित गर्नुपर्छ, जसले व्यवस्थापनलाई थप जटिल बनाउँछ ।
र अन्त्यमा शिक्षक सरुवा विद्यालय शिक्षाको सुधारका लागि महत्वपूर्ण प्रक्रिया हो, तर यसलाई व्यवस्थित, पारदर्शी, र विद्यार्थी सिकाइलाई प्राथमिकता दिने गरी लागू गर्नुपर्छ । यदी शिक्षकहरूको मनोबल खसाउने, विद्यार्थीको सिकाइ प्रक्रियामा असर पार्ने, र विद्यालय व्यवस्थापन असहज बनाउने गरी सरुवा गरिन्छ भने त्यसको दीर्घकालीन असर नकारात्मक मात्र हुनेछ ।
त्यसैले, शिक्षक सरुवा नीति सुधार गर्दै विद्यालय शिक्षाको स्थायित्व कायम राख्नुपर्छ । शिक्षा प्रणाली सुधारको नाममा शिक्षण अस्थिरता सिर्जना गर्नु समाधान होइन, बरु समस्याको जड बन्न सक्छ । विद्यालय सुधारका लागि शिक्षक स्थायित्व पहिलो सर्त हो ।
लेखक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
तपाईंसंग पनि लेख, रचना छ भने हामीलाई मेल गर्नुहोस् । [email protected]