५० रुपैयाँको टिकट काट्दा सिमराका प्रनिशले पाए पाँच हजार भन्दा बढीको उपहार


eShilalekh

२४ चैत्र २०८१, आईतवार १६:२७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ का प्रनिश खत्री केही दिनअघि मात्रै अष्ट्रेलियाबाट नेपाल आएका थिए । नेपाल आएको समयमा उनले फूटबल हेर्ने निधो गरे ।

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकप अन्तर्गत आयोजक नव जनजागृति र एन्फा मकवानपुरबीचको खेल हेर्न प्रनिश परिवारसहित सिमरा रंगशाला पुगे । प्रनिशले एक सय ५० रुपैयाँमा तीन वटा टिकट काटे ।

रंगशालाको प्यारापिटमा बसेर खेलको मज्जा लिईरहेका प्रनिशलाई फूटबल हेर्न काटेको टिकटले पाँच हजार भन्दा बढीको पुरस्कार पाइन्छ भनेर थाहा पनि थिएन । खेल सकिनुभन्दा केही समय अगाडि स्टेजबाट भाग्यशाली टिकट नम्बर उद्घोष गरिन्छ । जुन नम्बर प्रनिशले हातमै बोकेको टिकटमा उल्लेख भएको हुन्छ ।

हातमै बोकेको टिकट नम्बर उद्घोष भएपछि प्रनिश स्टेजतर्फ पुग्छन् । केही समयपछि आयोजकले विभिन्न उपहार योजनाले प्रनिशलाई पुरस्कृत गर्छ ।

प्रनिशले सुरक्षा मोबाइलको तर्फबाट स्मार्ट घडी, हिमालयन कफी शपको तर्फबाट दुई हजार बराबरको नाङ्लो प्लाटरको कुपन, ग्रेस इन्टरनेशनको तर्फबाट ल्यापटप ब्याग पाउँछन् । त्यही टिकटबाट फाइनलमा दिइने विभिन्न बम्पर उपहार योजनामा समेत सहभागी गराईने छ ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा पुरस्कृत भएका प्रनिशले आफूलाई खुशी लागेको बताए । पुरस्कारसंगै आयोजकले दर्शकका लागि गरेको सम्मान सह्रानीय रहेको प्रनिशको भनाई थियो । प्रनिशले टिकट काटेर खेल हेर्न दर्शकलाई सुझाव दिए ।

सिमरामा राष्ट्रिय स्तरको प्रतियोगिता हुनु आफैमा गौरवको विषय रहेको भन्दै प्रनिशले यस्तो प्रतियोगितालाई निरन्तरता दिन दर्शकको पनि ठूलो भूमिका हुने प्रनिशले बताएका छन् ।

क्लका अध्यक्ष रामचन्द्र लामाले दर्शकले काटेको एउटा टिकट विभिन्न उपहार योजनामा समावेश हुने बताए । उनले टिकटको अधकट्टी फाइनल खेलसम्म राख्न अनुरोध गरे ।

फाइनलमा दर्शकका लागि विभिन्न उपहार योजना ल्याईने र खेल अवधिभरमा काटिएका सबै टिकटलाई उपहार योजनामा सहभागी गराईने अध्यक्ष लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्