जीतपुरसिमरा गोल्डकपः फ्रेण्ड्सलाई पन्छाउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

सिमराः हिमालयन शेर्पा क्लब १५औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई १–० ले पराजित गर्दै शेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो ।
शेर्पाको जितसंगै जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि आयोजक नव जनजागृति युवा क्लब, मछिन्द्र फूटबल क्लब र हानामी बिएफसी भरतपुर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
शेर्पालाई सेमिफाइनलमा पुर्याउने क्रममा रोबर्ट खोङजोले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा रोवर्टले गरेको गोल निर्णायक बन्न पुग्यो ।

रोवर्ट ग्रिन इनर्जी प्लेयर अफ दि म्याच समेत घोषित भए । उनले १० हजार नगद प्राप्त गरे । उनलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डे र ग्रिन इनर्जी ईण्डष्ट्रिज प्रालिका संचालक स्वीकार ढकालले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार मछिन्द्र फूटबल क्लब र हानामी बिएफसी भरतपुरबीच पहिलो सेमिफाइनल खेल हुनेछ । आयोजक नव जनजागृति र हिमालयन शेर्पा क्लब दोस्रो सेमिफाइनल खेल बुधबार हुनेछ ।
चैत २९ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछ ।