जीतपुरसिमरा गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै हिमालयन शेर्पा फाइनलमा प्रवेश

सिमराः घरेलु टोलीलाई स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब १५औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक नव जनजागृति युवा क्लबलाई २–१ ले पराजित गर्दै शेर्पा फाइनलमा प्रवेश गरेको हो ।
आयोजकलाई उसकै मैदानमा हराउने क्रममा शेर्पाका लागि रोवर्ट खोङजो र समीरराज थोकरले गोल गरेका थिए । आयोजकका लागि भने युवराज खड्काले एक गोल फर्काएपनि पराजय टार्न सकेनन् ।
शेर्पाले खेलको ४८औं मिनेटमा रोवर्ट खोङजोको गोलबाट अग्रता लिएको थियो । खोङजोले प्रहार गरेको बल आयोजकका खेलाडीसंग डिफ्लेक्ट हुँदै गोल हुन पुगेको थियो ।
त्यसको १० मिनेटमै शेर्पाले अर्को गोल थप्दै आयोजकमाथि दवाव सिर्जना गरेको थियो । समीरराज थोकरले शेर्पाका लागि दोस्रो गोल गरेका थिए ।
खेलमा २–० ले पछि परेपछि घरेलु दर्शक निराश बन्न पुगे । तर आयोजकका खेलाडीले शेर्पालाई सहज जित हात पार्न दिएनन् । दोस्रो हाफमा आयोजकको खेल हेर्न लायक बनेको थियो ।
शेर्पाविरुद्ध निरन्तर अवसर सिर्जना गरेको आयोजकले खेलको ७३औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । युवराज खड्काले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याएका थिए । तर फिनिसिङ पक्ष कमजोर बन्दा आयोजकले दोस्रो हाफमा बनाएको थुप्रै अवसर गुमाउन पुग्यो । जसले गर्दा नतिजा शेर्पालाई सुम्पिन आयोजक बाध्य भयो ।
खेलको ग्रिन इनर्जी प्लेयर अफ दि म्याच शेर्पाका रोवर्ट खोङजो घोषित भए । उनले १० हजार नगद हात पारे । उनलाई भिएक्सएल एजुकेशनका उत्सव नराल र ग्रिन इनर्जीका शैलेश शाह ठकुरीले पुरस्कृत गरेका थिए ।
फाइनलमा प्रवेश गरेको शेर्पाले अब उपाधीका लागि मछिन्द्र फूटबल क्लबसंग खेल्नेछ । हानामी बिएफसी भरतपुरलाई पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ ।
मछिन्द्र गत संस्करणको उपविजेता हो भने शेर्पा दोस्रो संस्करणको विजेता हो । चैत २९ गते हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछ ।