पर्सा प्रहरीद्वारा कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ

सिमराः जिल्ला प्रहरी कार्यालय पर्साले मङ्गलवार राति कटुवा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ का ६० वर्षीय वीरेन्द्र यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार मङ्गलवार राति वीरेन्द्र यादव र उनका भाइ ५५ वर्षीय सिकिन्द्र यादवबिच गहुँ काट्ने विषयलाई लिएर विवाद भएको थियो । उक्त विवादले उग्र रूप लिँदा दुवै जना बिच हातपात भएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।
सूचनाको आधारमा प्रहरी चौकी महुवन पर्साबाट खटिएको प्रहरी टोलीले झगडा छुटाउन जाँदा वीरेन्द्र यादवले लगाएको ट्र्याक पाइन्टभित्र शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी उनको शरीर खानतलासी गरेको थियो । खानतलासीका क्रममा वीरेन्द्रको कम्मरमा बाँधिएको कालो रङ्गको बेल्टको दाहिनेपट्टि फलामले बनेको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
उक्त पेस्तोलमा ‘बीएमएम केएफ ००’ लेखिएको एक राउन्ड गोली लोड भएको अवस्थामा थियो भने थप तीन राउन्ड ‘बीएमएम केएफ ००’ लेखिएको गोली र फलामको गोली राख्ने चाचर (म्यागजिन) समेत लुकाई छिपाइ राखिएको अवस्थामा बरामद गरिएको डिएसपी लम्सालले जानकारी दिए ।
प्रहरीले पेस्तोल १ थान, गोली ४ राउन्ड र चाचर १ थानसहित वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा राखी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए ।
पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।