उपाधिका लागि मछिन्द्र र हिमालयन शेर्पा भिड्दै


eShilalekh

२८ चैत्र २०८१, बिहीबार २१:२८

सिमरा: १५औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि ‘ए’ डिभिजनका दुई टोली मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब शुक्रबार राति भिड्दैछन् । बाराको सिमरा रंगशालामा शुक्रबार राति ६ बजे दुई टोलीबीच फाइनल खेल हुनेछ ।

मछिन्द्र दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्दैछ भने शेर्पाले चौथो पटक फाइनल खेल्न लागेको हो । शेर्पाले एकपटक जीतपुरसिमरा गोल्डकपको उपाधि उचालिसकेको छ भने दुई पटक उपविजेता बनेको छ । दास्रो संस्करणको उपाधि जितेको शेर्पा १३औं र चौथो संस्करणमा शेर्पा उपविजेता भएको थियो ।

मछिन्द्र भने गत संस्करणको उपविजेता हो । मछिन्द्र गत वर्षको फाइनलमा नेपाल पुलिस क्लबसंग पराजित भएको थियो । पुलिससंग पराजित हुँदै उपविजेता बनेको मछिन्द्रले यसपटक पहिलो खेलमा पुलिसलाई पन्छाएर अन्तिम चारको यात्रा तय गरेको थियो । पुलिसलाई टाईब्रेकरमा ४–३ ले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको मछिन्द्रले सेमिफाइनलमा हानामी बिएफसी भरतपुरलाई १–० ले पराजित गरेको थियो ।

केपी ओली कप, इटहरी गोल्डकप र कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको मच्छिन्द्र जीतपुरसिमरा गोल्डकपमा पनि विजेताको सूचिमा नाम लेखाउन चाहन्छ । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने भने यो पटक उपाधि उचालेर नै घर फर्किने बताए ।

सिमरा रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा न्यौपानेले यस वर्षको चौथो उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए । मछिन्द्रका कप्तान रेजिन सुब्बाले उच्च मनोबलका साथ मैदानमा उत्रने र उपाधि उचाल्ने बताए ।

यता शेर्पा भने दोश्रोपटक प्रतियोगिताको उपाधि उचाल्ने दाउमा हुनेछ । जीतपुरसिमरा गोल्डकप जितेमा शेर्पाका लागि यो वर्षको पहिलो उपाधि पनि हुनेछ । पहिलो खेलमा फ्रेण्ड्सलाई १–० ले पराजित गरेको शेर्पाले सेमिफाइनल खेलमा आयोजकलाई २–१ ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको थियो ।

हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले आफूहरु बर्षको पहिलो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताएका छन् । क्षेत्रीले युवा खेलाडी सम्मिलित टोलीले जीतपुरसिमरा गोल्डकपको उपाधिसहित यो वर्षको अन्त्य गर्ने बताए । शेर्पाका कप्तान विश्वास श्रेष्ठ पनि उपाधि जित्नेमा ढुक्क देखिन्छन् ।

चैत २२ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले भिएक्सएल एजुकेशनको तर्फबाट एक थान स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको समापन समारोह पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम रहेको आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

जीतपुरसिमरा गोल्डकपको हालसम्मका उपाधि विजेता
२०८० – नेपाल पुलिस क्लब
२०७९ – चर्च व्वाईज युनाईटेड
२०७८ – न्युरोड टिम (एनआरटी)
२०७७ – संकटा क्लब
२०७५ – थ्रिस्टार क्लब
२०७४ – त्रिभूवन आर्मी
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब, हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – नव जनजागृति युवा क्लब, सिमरा
२०६९ – मनाङ मर्स्याङदी क्लब
२०६८ – मनाङ मर्स्याङदी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब

प्रतिक्रिया दिनुहोस्