हिमालयन शेर्पालाई १३ वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमराः हिमालयन शेर्पा क्लबले १३ वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार राति सम्पन्न फाइनल खेलमा मछिन्द्र फूटबल क्लबलाई ४–१ पराजित गर्दै शेर्पाले उपाधि उचालेको हो ।
शेर्पालाई उपाधि दिलाउने क्रममा कप्तान विश्वास श्रेष्ठले दुई गाले गरे भने रोवर्ट खोङजो र समीरराज थोकरले एक÷एक गोल गरे । मछिन्द्रका लागि रञ्जन पुनले एक गोल फर्काए ।
१३ वर्षपछि पुनः एकपटक जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको शेर्पाले १० लाख हात पारेको छ । लगातार दोस्रो पटक उपविजेतामा चित्त बुझाउन बाध्य मछिन्द्रले पाँच लाख पाएको छ ।
शेर्पाले यसअघि २०६७ सालमा दोस्रो संस्करणको उपाधि जितेको थियो । लगातार फाइनलमा प्रवेश गरेको मछिन्द्र गत वर्ष पनि नेपाल पुलिस क्लबसंग पराजित हुँदै उपविजेता भएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी शेर्पाका रोवर्ट खोङजो घोषित भए । शेर्पाबाट खेलेका भारत मेघालयका खोङजोले इलेक्ट्रिक स्कुटर प्राप्त गरे । भिएक्सल एजुकेशनले उक्त स्कुटर प्रायोजन गरेको थियो ।
विधागततर्फ सर्वाधिक गोलकर्ताको उपाधि पनि खोङजोले पाए । उनले तीन गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक शेर्पाका विवश चौधरी, उत्कृष्ट प्रशिक्षक शेर्पाका प्रज्वल प्रताप क्षेत्री घोषित भए । विधागततर्फका उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताको उदयीमान खेलाडी आयोजकका सेरव लो तामाङ घोषित भए । उनले १५ हजार नगद प्राप्त गरे । सिमरा रंगशालाबाटै फूटबल क्षेत्रमा उदाएका पूर्व राष्ट्रिय खेलाडी रवी पासवानले उक्त रकम उपलब्ध गराएका थिए ।
फाइनल खेलको प्लेयर अफ दि म्याच शेर्पाका अमित तामाङ घोषित भएका छन् । तामाङले ग्रिन इनर्जी प्रालिको तर्फबाट १० हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले सिरहाको सलहेश युवा क्लबले प्राप्त गरेको छ ।
विजेता तथा उपविजेता खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललगायतले पुरस्कार प्रदान गरेका थिए ।