निजगढमा अनुमति बिना संचालनमा रहेका ९ वटा स्वास्थ्य संस्था बन्द

सिमराः मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुक्रबार बाराको निजगढमा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा नौ वटा स्वास्थ्य संस्थाहरु अनुमति बिना संचालनमा रहेकाले स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले बताएका छन् ।
अनुगमन टोलीका सदस्य समेत रहेका जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार अहिलेसम्म फार्मेसी बन्द गर्ने नीति नभए पनि फार्मेसी खोलेर अस्पताल सञ्चालन गरेको पाइएपछि फार्मेसी पनि पहिलो पटक बन्द गरिएको हो ।
अनुगमनका क्रममा २ अस्पताल, २ डेन्टल क्लिनिक, ४ फार्मेसी र १ आँखा उपचार केन्द्र बन्द गरिएको जनाइएको छ ।
निजगढ सिटी अस्पताल, जीवनदान हस्पिटल, निजगढ डेन्टल क्लिनिक, नारायणी दन्त सेवा केन्द्र, मिश्र मेडिकल सेन्टर, सम्माम फार्मेसी, मोहम्मद मेडिसिन सेन्टर, सिद्धार्थ मेडिकल हल, र निजगढ आँखा उपचार केन्द्र बन्द गरिएको छ ।
ठाकुरका अनुसार मधेश प्रदेशभरी अहिलेसम्म एक सय ६९ अनुगमन भएका मध्ये मापदण्ड पुगेका १८ वटा संस्था रहेका छन् । त्यसमध्ये बन्द गर्न निर्देशन दिएका एक सय २२ संस्था रहेका छन् ।