वीरगन्जमा भोली दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू

सिमराः हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । स्थिती नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले वीरगन्जको केही क्षेत्रमा कर्फ्यू लगाएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्धारा जारी सूचना अनुसार शनिबार साँझ ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको उल्लेख छ ।
प्रशासनले पूर्वमा भेडियाही चोक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट भित्रको क्षेत्रमा कर्फ्यू लगाएको हो । कर्फ्यू जारी भएको क्षेत्रमा मानिसको आवतजावत, भेला, प्रदर्शनलगायतका गतिविधि निषेध गरिएको छ ।
हनुमानको जन्मोत्सवको क्रममा वीरगन्जमा निकालिएको शोभायात्रा छपकैया पुगेपछि दुई समुदायबीच झडप सुरु भएको थियो । झडपपछि आक्रोशित भिड्ले श्रीराम हल अगाडिको केही पसलमा आगजनी गरेका छन् भने केही मोटरसाइकल समेत जलाइएको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले थुप्रै अश्रग्याँस प्रहार गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी निरीक्षकसहित १५ जना घाईते भएका छन् । घाईतको विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।