वीरगन्जमा कर्फ्यू हटाईयो, निषेधाज्ञा जारी

सिमराः जिल्ला प्रशासन कार्यालय पर्साले आईतबार राति १२ बजेदेखि वीरगन्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हटाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यू हटाएर विभिन्न चार नाकामा निषेधाज्ञा जारी गरिएको बताए छन् ।
उनका अनुसार हाललाइ कर्फ्यू हटाइएको छ, तर केही ठाउँमा निषेधाज्ञा भने जारी गरिएको छ । महानगरपालिको चार वटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।
निषेधाज्ञामा वीरगन्ज महानगरपालिकाभित्र पर्ने स्थानहरूमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन तथा भीडभाड गर्न नपाइने स्पष्ट भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आम नागरिकलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै आदेशको उल्लंघन गर्नेहरूमाथि कानून बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
हनुमान जयन्तीको उत्सव मनाउँदै गर्दा वीरगन्जमा दुइ समुदायबीचको विवादले उग्ररुप लिएपछि प्रशासनले शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।
