तीन सय किलो गाँजासहित सिमराबाट तीन जना पक्राउ

सिमरा: प्रहरीले बिहीबार राति सिमराबाट तीन सय किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण व्यूरो वीरगन्जको संयुक्त टोलीले जीतपुरसिमरा ३ स्थित बजनीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
मिनिट्रकमा अवैधरुपमा लागूऔषध गाँजा ढुवानी गरि लगिरहेको अवस्थामा प्रहरीले मकवानपुर कैलाश गाउँपालिका ४ का ३२ वर्षीय राजन लामा, ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका ३ का ३३ वर्षीय ईश्वर लोप्चन र मोटरसाइकल चालक कैलाश गाउँपालिका १० का २७ वर्षीय जीवन थोकरलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये लामा र लोप्चन ट्रकमा सवार थिए भने थोकर मोटरसाइकलमा सवार थिए ।
हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख २५०४ नम्बरको मिनिट्रकमा गाँजा राखेर ना३३प ७४६९ नम्बरको मोटरसाइकलले स्कर्टिङ गर्दै लगिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले मिनिट्रकबाट प्लास्टिकमा बेरिएको १६ वटा ठूलो र तीन वटा सानो प्याकेट गरि करिब तीन सय किलो गाँजा बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।