पर्सामा भन्सार छलीका सामानसहित तिन जना पक्राउ


eShilalekh

११ बैशाख २०८२, बिहीबार १८:५७

सिमराः सशस्त्र प्रहरीको गस्ती टोलीले पर्साको दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छलीका सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबार वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित सिर्सिया खोलाको पुल नजिकबाट भारतबाट चोरीपैठारी गरी ल्याइएको एक थान एसीसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला, पन्टोका गाउँ १६ का ५२ वर्षीय विनोद प्रसाद रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको गस्ती टोलीले प्रसादलाई ना १५ प ३६८८ नम्बरको हिरो होण्डा मोटरसाइकलमा एसी राखेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्ति, मोटरसाइकल र एसीसहितको सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । एसीको मूल्य ७० हजार र मोटरसाइकलको मूल्य एक लाख गरी कुल एक लाख ७० हजार रुपैयाँ बराबरको भन्सार दाखिला गरिएको छ ।

यसैगरी वीरगञ्ज महानगरपालिका २५ मा पर्ने ड्राइपोर्ट–परवानीपुर सडकखण्डको बहुअरी चोकमा बिहिबार अवैध माछा भन्सार छली ल्याउने प्रयासमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २५ का ३४ वर्षीय सरोज सहनी मलाहा र बारा विश्रामपुर गाउँपालिका ५ का १८ वर्षीय भोला कुमार कुशवाहा रहेका छन् ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले म. प्रदेश ०३–००१ च ७९९२ नम्बरको सेतो रङको बोलेरो पिकअप गाडी रोकेर जाँच गर्दा गाडीमा लोड गरिएको एक हजार ९ सय रुपैयाँ २० किलो जलकपुर जातको माछाको विवरण कागजातसँग मेल नखाएपछि गाडी र माछासहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।

माछाको मूल्य चार लाख तिन हजार दुई सय र बोलेरो गाडीको मूल्य २२ लाख गरी कुल २६ लाख तिन हजार दुई सय रुपैयाँ बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्