बाराका दुईजना लागूऔषध ट्रामाडोलसहित मकवानपुर प्रहरीद्वारा पक्राउ

सिमराः मकवानपुर प्रहरीले बिहिबार बिहान हेटौँडा उपमहानगरपालिका १५ रातोमाटेबाट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको पचरौता नगरपालिका ७ बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र २३ वर्षीय सहचालक सुनिल पटेललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्व–पश्चिम लोक मार्गअन्तर्गत रातोमाटे चेकप्वाइन्टमा सिम्रौनगढबाट हेटौँडातर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडी रोकेर जाँच गर्दा गाडीको इन्जिन भागमा लुकाइछिपाई ल्याइएको पाँच हजार ७५० थान (५७ हजार ५०० क्याप्सुल) ट्रामाडोल बरामद गरेको हो ।
बरामद लागूऔषध मूल्य चार लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।