सशस्त्र प्रहरीद्वारा वीरगन्जबाट अवैध औषधिसहित अटो चालक पक्राउ

सिमराः सशस्त्र प्रहरीले वीरगन्जबाट करिब १० लाख मूल्य बराबरको अवैध औषधिसहित अटो चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज २५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानु रहेका छन् ।
वीरगन्ज महानगरपालिका २४ स्थित रामगढवामा भारतबाट ना २ स १०१७ नम्बरको अटोमा अवैध रूपमा ल्याइएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल सशस्त्र प्रहरी बरामद गरेको हो ।
औषधि तस्करीमा प्रयोग भएका भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।
बरामद औषधिको मूल्य करिब ९ लाख ६० हजार रुपैयाँ रहेको छ भने अटो र मोटरसाइकलको संयुक्त मूल्य करिब ६ लाख रुपैयाँ गरी कुल मूल्य १५ लाख ६० हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति र बरामद सामानहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले जानकारी दिए ।