शिक्षक आन्दोलनमा झडप, बाराका सहनीसहित केही शिक्षक घाइते


eShilalekh

१४ बैशाख २०८२, आईतवार १५:०२

सिमराः शिक्षा ऐनको माग राख्दै काठमाडौंको माइतीघरमा २६ दिनदेखि प्रदर्शन गर्दै आएका शिक्षक र प्रहरीबीच आइतबार झडप भएको छ । उक्त झडपमा परी शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीसहित केही शिक्षक घाइते भएका छन् ।

घाइतेको अहिले बानेश्वरस्थित एभरेष्ट अस्पताल र निजामती कर्मचारी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीसंग झडपमा घाइते भएका उनिहरुको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरुले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि झडप भएको हो । निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रतिकार गरेको थियो ।

शिक्षकलाई रोक्न पानीको फोहोरा प्रयोग गरेपछि आक्रोशित शिक्षकले ढुंगा प्रहार गर्न थालेका थिए । सो क्रममा दोहोरो झडप भएको हो । झडपपछि नयाँ बानेश्वर क्षेत्र अशान्त बन्न पुगेको थियो ।

सर्वोच्च अदालतले आफ्नो काममा फर्कन र शिक्षकको माग पूरा गर्न सरकारलाई दिएको तीन दिनको समयसीमा आइतबार सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्