सानो पाइला सहकारी ठगी प्रकरणः रवि लामछिानेसहित ४१ जनासंग दुई अर्ब ३० करोड बिगो दाबी


eShilalekh

१४ बैशाख २०८२, आईतवार १७:१७

वीरगन्जः पूर्पक्षका लागि भैरहवास्थित कारागारमा रहेका रवि लामिछानेसहित ४१ जनालाई प्रतिवादी बनाउँदै पर्सा प्रहरीले सानो पाइला सहकारीको फाइल सरकारी वकिलको कार्यालयमा पठाएको छ ।

झण्डै पाँच महिनाको अनुसन्धान सकेर पर्सा प्रहरीले सहकारी ठगी प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको हो । सहकारी ठगी र सङ्गठित अपराधको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन् ।

प्रहरीले साइनो पाईला सहकारी ठगी प्रकरणमा ३० व्यक्ति, तीन सहकारी र ११ वटा कम्पनीविरुद्ध मुद्धा चलाउने तयारी गरेको छ । जसमा पूर्व गृहमन्त्री लामिछाने, पूर्व डिआईजी छविलाल जोशी, गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कुमार रम्तेललगायतका छन् ।

प्रहरीले ४१ आरोपितविरुद्ध दुई अर्व ३० करोड १४ लाख बिगो दावी गरेको छ । जसमध्ये कुमार रम्तेलसंग १५ करोड ५३ लाख, जिवि राई संग १० करोड ८१ लाख, लामिछानेसंग पाँच करोड ७४ लाख, जोशीसंग तीन करोड २४ लाख बिगो दाबी गरिएको छ । राई फरार छन् भने लामिछाने, जोशी र रम्तेल कारागारमा छन् ।

सानो पाइला सहकारीका चार सय ३८ बचतकर्ताले आफूहरुको रकम अपचलन भएको भन्दै विभिन्न मितिमा पर्सा प्रहरी कार्यालयमा उजुरी दिएका थिए । अनुसन्धानमा सानो पाइला सहकारीबाट सूर्यदर्शन सहकारीमा एक करोड १० लाख र स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १५ करोड रुपैयाँ सारिएको देखिएको छ ।

बचतकर्ताको उजुरीमा अनुसन्धान थालेको प्रहरीले मंसिर २५ गते लामिछानेसंग जिल्ला सरकारी वकिलको कार्यालयमा ल्याएर बयान समेत लिएको थियो । प्रहरीले लामिछानेविरुद्धको सम्पति शुद्धिकरण मुद्धामा भने अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्