सप्तरी कारागारबाट एक कैदी फरार

सप्तरीः सप्तरी कारागारबाट सोमबार एक जना कैदी फरार भएका छन् ।
कारागारबाट रामानन्द मण्डल हाम फालेर फरार भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार आइतबार राती १० बजेसम्म कारागारमै रहेका मण्डल बिहानबाट बेपत्ता भएका हुन् ।
मण्डल कारागारको पर्खालबाट हाम फालेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी प्रमुख खतिवडाको भनाइ छ । चट्याङसहित पानी परेको मौका छोपी उनी फरार भएको देखिएको छ ।
मण्डल काठमाडौँबाट चोरी मुद्दामा पुर्पक्ष भई सप्तरी कारागार चलान भएका थिए । उनी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका ११ का निवासी रहेको प्रहरीले जनाएको छ ।
फरार कैदी मण्डलको खोजीमा व्यापक प्रहरी खटाइएको सप्तरी प्रहरीको दाबी छ ।