मधेश प्रदेशको पाँच जिल्लाका प्रहरी प्रमुख फेरिए, राजमार्ग प्रहरीमा सिलवाल आउने

सिमराः मधेश प्रदेशको पाँच जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार ६३ प्रहरी उपरीक्षकको सरुवा गर्दा मधेशको आठ जिल्लामध्ये पाँच जिल्लाका प्रमुख फेरिएका हुन् ।
मधेशको रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका प्रहरी प्रमुखमा फेरिन लागेका हुन् । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार रौतहटमा नेत्रमणी गिरी आउन लागेका छन् । गिरी कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगर सुर्खेतबाट रौतहट आउन लागेका हुन् ।
रौतहटका प्रहरी प्रमुख दिलिप घिमिरेको नेपाल प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा नक्सालमा सरुवा भएको छ ।
यसैगरी सर्लाहीमा प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का आउने भएका छन् । खड्का लुम्बिनी प्रदेश प्रहरी गण बाँकेबाट आउन लागेका हुन् । सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रकुमार सिंहको नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्सालमा सरुवा भएको छ ।
महोत्तरीको प्रहरी प्रमुखमा हेरम्ब शर्माको सरुवा भएको छ । शर्मा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट आउन लागेका हुन् । महोत्तरीका प्रहरी प्रमुख रहेका नकुल पोखरेलको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।
धनुषाको प्रहरी प्रमुखमा नरहरी रेग्मी आउने भएका छन् । रेग्मी जिल्ला प्रहरी परिसर ललितपुरबाट धनुषा आउन लागेका हुन् । धनुषाका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौंमा सरुवा भएको छ ।
यसैगरी सिरहाको प्रहरी प्रमुखमा अनन्त शर्मा आउने भएका छन् । शर्मा गण्डकी प्रदेश प्रहरी गणबाट आउन लागेका हुन् । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
यता बाराको पथलैयामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा प्रहरी उपरीक्षक रामकुमार सिलवाल आउने भएका छन् । सिलवाल गण्डकी प्रदेश प्रहरी कार्यालयबाट मधेश प्रदेशको बारा आउने भएका हुन् ।
प्रहरी प्रधान कार्यालयले यसअघि उक्त कार्यालयको प्रमुख रहेका भिमकिरण बोगटीलाई बागमती प्रदेश प्रहरी गण हेटौंडामा सरुवा गरेको छ ।
यसबाहेक मधेशका अन्य जिल्ला बारामा सन्तोष तामाङ्ग, पर्सामा गौतम मिश्र र सप्तरीमा ढकेन्द्र खतिवडा प्रहरी प्रमुखको रुपमा काम गरिरहेका छन् ।