रक्षकको त्यो भक्षक रुप

कृष्ण अधिकारी
त्यो रात अझै मेरो आँखामा झलझली आउँछ । साँझपखको त्यो क्षण–जहाँ कोठाको ढोका बन्द भयो र खुला रह्यो केवल उसका हातहरू । जो पागलजस्तै शरीरभरि परिरहे, प्रहारजस्तै ।
मैले कहिल्यै कल्पना गरेको थिइन कि एकजना मान्छे, जसलाई मैले विश्वास गरे, उनी नै त्यो रात दानव बनेर फर्कन्छन् । हातले मात्र होइन, शब्दले पनि गिज्याउँथे । ‘यो तेरो सजाय हो’ भन्थे– र म चुपचाप सहँदै थिएँ ।
कुर्सीको कुनामा थचक्क बस्थेँ । शरीर थरथर काँप्थ्यो–तर आँखा उसैलाई हेथ्र्यो, शायद उसले मलाई चिनेको होस् भन्ने आशामा । तर ऊ त बेग्लै अनुहार बोकेको थियो त्यो रात–मानौ ऊ कुनै शिकारमा निस्केको बाघ हो ।
मेरो छाला रातो हुँदै गयो, रगतले लुगा रंगिए, तर उसको हात रोकिने नामै लिंदैनथ्यो । ‘म केही पनि बोलेको छैन,’ भने तर उसको कानले केही सुनेन । कुनै बेला लाग्यो–चोटले भन्दा पनि, मौनताले मलाई मार्दैछ । मनले भन्यो, ‘अब त भयो, छोडिदेऊ,’ तर मुखबाट शब्दहरू निस्किन सकेन । शरीरले हिँड्न मानेन । तर म त्यस कोठाबाट निस्किनै पर्यो ।
बाहिर निस्किएपछि, म पुरुष देख्नासाथ डराउन थाले । मनले सोच्यो—शायद सबै घरभित्र यस्तै हुन्छ । तर तुरुन्तै बुवाको अनुहार सम्झिए – मैले उहाँबाट कहिल्यै यस्तो व्यवहार देखेकी थिइन । अनि सबै पुरुष उस्तै हुन्छन् भन्ने लागेन । त्यो सम्झनाले मन अझै भारी बनायो ।
बाथरुमभित्र गएर घुँडा टेकेर बसे । आँखा बन्द गरे, र आँसु खोले । त्यो रात आँसु, रगत र मौनता–तीनैसँग बित्यो ।
बिहान जब होश आयो, शरीर सुन्निएको थियो । हातखुट्टा नचल्ने अवस्थामा थिए । आफ्नै छाँया देख्दा पनि डर लाग्थ्यो । कसैगरी उठेर बाहिर निस्किए । भित्तामा झुन्डिएको उसको फोटोले मलाई हेरिरहेको थियो, ठीक त्यही मुस्कानले– जसले मलाई पहिलोपटक फकाएको थियो ।
त्यो फोटो देख्दा शरीरको भित्रै कताकताबाट आगो उठेजस्तो लाग्यो । मन चिच्यायो–तर मुख बन्द नै रह्यो । फेरि बाथरुम गए– आँसु त सकिएको जस्तो लाग्थ्यो । तर भित्रको चिच्याहट अझै बाँकी थियो । त्यही बाथरुमभित्र कति बेर रोए थाहा छैन । शायद त्यहीं ढलेछु । जब आँखा खुले, अस्पतालको सेतो भित्ता हेर्दै थिए । छेउमा छिमेकी साथी र दिदीकी छोरी थिए । कसैले केही सोधेनन् – के भयो ?, शायद सबैलाई थाहा थियो ।
चुपचाप मलमपट्टी गरे । मेरो अनुहारमा झलक्क मुस्कान फिँजिएको थियो, तर त्यो मुस्कानले पीडालाई लुकाएको थियो, निको पारेको थिएन । म घर फर्किए–त्यही घरमा, जहाँ झुण्डिएको थियो त्यो फोटो, र अझै पनि मलाई घुरेर हेर्ने आँखा ।
हिजो प्रहरी अफिसमा ममाथि हात उठाएको घटनापछि श्रीमानले औपचारिक रूपमा ‘म माफी माग्छु, दोहोरिँदैन’ भनेका थिए । सबैका अगाडि शान्तिपूर्ण व्यवहारको अभिनय गरेका थिए ।
तर उनले बुझेकी थिईन् त्यो अभिनय थियो, स्वीकारोक्ति होइन । त्यसपछि उनी निरिह मन लिएर घर फर्किइन् । नचाहेको अपराधको क्षमा याचना आफैं बोकेर । ‘अब केही हुन्न, म चुपचाप बस्छु’ भनेर आत्मालाई बुझाउँदै, लामो सास फेरेर घर फर्किइन् ।
छोरीसँग सँगै सुतेकी थिइन् । श्रीमान् छुट्टै कोठामा थिए । त्यो रात शान्ति होला भन्ने एक थोपा आशामा । तर बिहान उनले कल्पनै नगरेको भयो— उठ्ने बित्तिकै टाउकोमा एक झट प्रहार ।
रगत बग्न थाल्यो । छोरी डरले कापिन्, उनी चिच्याइन् ‘मरे म’ । ढोका बन्द थियो, तर आवाज भित्ता छिचोल्दै बाहिर निस्कियो । छिमेकी दिदी आएर ढोका ढक्ढक्याइन् । अस्पताल पुर्याइयो– तर त्यो चोटभन्दा गहिरो थिए उनका मौन घाउहरू । किनकि यो घटना थिएन, त्यो त ‘दैनिकी’ जस्तै भइसकेको थियो ।
शब्द कहिले बिना स्वर ओठमा झुन्डिन्छन्, तर कहिले मौनता नै भित्रभित्रै यति ठूलो स्वरमा कराउँछ कि त्यो आवाज सुन्न नसक्नेहरू नै बहिरा साबित हुन्छन् ।
उनी यस्तै मौन आवाज बोकिरहेकी छिन् । दिनको उज्यालोमा पनि अन्धकारको अनुभूति गर्ने एक नारी । जहाँ उनलाई दिन र रातको फरक छैन, कुन घडी पीडा आइपुग्छ भनेर शरीरभन्दा पहिला आत्मा डराउँछ ।
श्रीमान् शब्द त प्यारो लाग्थ्यो, तर उनको जीवनमा यो शब्द श्रापजस्तै बनिसकेको छ । प्रेम होइन, अधिकार होइन– यो सम्बन्ध त अब केवल डर र सकसको परिभाषा बनेको छ । उनी घरको ढोकाभित्र, एक यस्तो कोठामा बस्छिन्, जहाँ भित्ताहरु उनीभन्दा धेरै कुराहरू जान्दछन् । तिनै भित्ताहरु साक्षी छन् ।
कहिलेकाहीँ उनका ओठबाट निस्कने घुट्टीएको रोदन । उनको जीवनको रक्षक—अब उनको रगतको रङसँग पहिचान जोडिएको छ । जहाँ जिन्दगी एउटै लुगा जस्तै देखिन्छ, दाग लागेको, च्यातिएको, फेरि पनि लाउनुपर्ने बाध्यतामा बाँधिएको ।
शरीरका निला दागहरू समयले मेट्न सक्छ, तर मनमा कोरिएका ती गहिरा छायाँहरू ? कसले पो पुछिदिन्छ र ? न सासूले देख्छिन्, न समाजले बुझ्छ । किनभने उनी त घरको इज्जत ‘बचाएर’ बसिरहेकी छिन् । बाहिर हाँस्ने प्रयास गर्छिन्, भित्र टुक्रिएका मनका छेउहरूलाई सिलाउँदै । कहिलेकाहीँ त उनले आँखा झिमिक्क पार्दा पनि, ती भित्री घाउ हराएको देख्छिन् ।
उनी राष्ट्र सेवकको श्रीमती हुन् । तर शान्ति भने उनको जीवनमा कहिल्यै आएन । एकातिर समाजको नजर– ‘कति भाग्यमानी, राष्ट्र सेवकको घरमा छिन् ।’
अनि अर्कोतिर उनको नजर– ‘कुन दिन अन्तिम रात हुन्छ भनेर बाँचिरहेको छु’ हरेक चिच्याहट, हरेक झप्किएको हात । हरेक रातको डर– अब उनको मनको नशासम्म छरिइसकेको छ । उनको निद्रा अब केवल आँसुको निदान बनेको छ । र सपना ? सपना त उसै दिन मरेको थियो, जब उनले बुझिन् ‘प्रेम पनि यातना पनि बन्न सक्छ’
तर मौनता चुप लागिरहँदैन । एक दिन त्यो मौनता नै गर्जिन्छ – सारा आवाज हराएपछि उही मौनता बाँकी रहन्छ । त्यही मौनता आज प्रश्न बनिरहेको छ । ‘कुन न्याय प्रणाली हो, जहाँ रक्षक नै भक्षक बनेको छ’ ? उनको मौनता अब यसी चिच्याइरहेको छ ।
कहिलेकाही उनलाई लाग्छ त्यो आफ्नै अस्तित्वको हत्या हो । त्यसैले पनि उनको शरीरले होइन, आत्माले बिद्रोह गर्न थालिसकेको छ । उनले अब तस्वीरमा होइन, जिन्दगीमै परिवर्तन खोज्न थालेकी छिन् । अब उनी गुम्सिएका घाउहरू देखाउन थालिसकेकी छिन् । आँसु पुछेर होइन, उठेर बोल्न थालिसकेकी छिन् ।
मौनताको रगत बग्न थालिसकेको छ,
तर अब त्यो रगत चुप लाग्ने छैन ।
उ त्यो मौनता बनेर फेरि बोल्नेछिन्
र हरेक नारीको चिच्याहटमा उनी
अब आफ्नो आवाज मिलाउनेछिन्
लेखक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
तपाईंसंग पनि लेख, रचना छ भने हामीलाई मेल गर्नुहोस् । [email protected]