सोचे जस्तो हुन्न जीवन

शंकर घिमिरे
जिन्दगीको यो गोरेटोमा कोही सुखको गीत गाउँछन्, कोही दुःखको ताली पिट्छन्, कोही सपना देखिरहन्छन्। कोही संघर्ष गर्न रुचाउँछन्, कोही ओठको कुनामा हाँसो छर्दै ब्युँझिन्छन्। कोही आँसु पोखेर आफ्नो पीडा भुलाउँछन् भने कोही कसैको यादमा जीवन बिताउँछन्। कोही कसैको यादमा तड्पिन्छन्, बिलाउँछन्।
जिन्दगी यस्तै रहेछ। यहाँ सबैको आ–आफ्नै कथा हुँदो रहेछ । कसैको सपनाको कथा, कसैको संघर्षको कथा, कतै सुखको कथा, कतै दुःखको कथा, कतै मायाको कथा त कतै बिछोडको कथा।
अन्ततः जिन्दगी एक कथा नै रहेछ। जिन्दगीको कथा नै जिन्दगी, अनि जिन्दगी नै कथा भएपछि यहाँ कथा अनुसार बयान पनि आ–आफ्नै अनि बेग्लाबेग्लै हुँदो रहेछ।
जिन्दगीमा खुशी हुने रहर कसलाई पो हुँदैन र? खुशी हुने प्रयास गर्दै जाँदा पनि दुःख र पीडाले मानिसलाई बेला–बेलामा पछ्याइरहन्छ। मानिस दुःखमै भए पनि सुखको सपना देख्ने गर्छ, र दुःखबाट मुक्ति पाउने सोचमा रमाउँछ।
दुःख के हो भन्ने कुरा त आफैँले भोगेकोलाई मात्र थाहा हुन्छ। टुटेको मुटुले मायाको अर्थ बुझेजस्तै, दुःख र अभाव भोगेकाहरूले नै जिन्दगीलाई नजिकबाट नियालेका हुन्छन् र जिन्दगी बुझेका हुन्छन्। सायद त्यसैले होला, उनीहरू जति जे भए पनि खुशी नै देखिन्छन्। सायद सन्तुष्ट हुन सिक्नु नै खुशी हुन सिक्नु हो।
जिन्दगी जिउन जान्नु जस्तै हो । तर सोचे जस्तो अनि चाहे जस्तो कहाँ हुन्छ र जीवन? यहाँ दुःख, सुख, खुशी, संघर्ष, पीडा सबैलाई अङ्गालेर बाँच्न हिम्मत र साहस चाहिन्छ। यहाँ प्रायः सबै मानिस आँटिला र साहसी नै छन्, किनकि सबै आ–आफ्नै जिन्दगीमा आफ्ना कथालाई अङ्गाल्दै अघि बढिरहेका छन्।
कसैलाई यो जिन्दगी उकालो जस्तै लाग्न सक्छ । अलिकति हिँडेपछि शरीर थकित बनाउने, जति माथि गयो फर्केर हेर्दा उति त्रसित बनाउने। कसैलाई यो जिन्दगी ओरालो जस्तै लाग्छ । जसरी हिँडे पनि कहिल्यै नथाकिने, जति दौडिए पनि पाइला पटक्कै नरोक्किने।
तर कसैलाई चर्को घाम र भयानक गल्लीहरूमा पनि जिन्दगी एउटा शीतल छहारी जस्तै लाग्छ। बोकेको भार बिसाउन कतै चौतारी भेटेझैँ लाग्छ। झिनो आशामाथिको विश्वासमा थोरै प्रयास गर्दा एक मुठी सास पाएझैँ लाग्छ।
जिन्दगीमा घटेका तिता अनि कोक्याउने विपना, आफूले काखी च्यापेर बसेका सपना, कसैको मीठो साथ, रंगीन पल, अनि कसैले आफूमा लिएर आएको परिवर्तन र बाँडेको ज्ञान कसरी बिर्सन सकिन्छ र?
ती बटुलेका ज्ञान र अनुभवलाई कसरी नजरअन्दाज गर्न सकिन्छ? आखिर जिन्दगी भनेकै सिक्नु र सिकाउनु, सुख–दुःखलाई अङ्गालेर बाँच्नु हो। कतै केही बाँकी हुँदा आफूभित्र आफैँलाई खोज्नु हो।
आँखामा सजाएका सपनाहरू पूरा गर्न कहिले कतै कुनै गल्ली अनि गोरेटाहरू चहारिरहनु हो। केही पाउनु, केही गुमाउनु, केही कुराको आश गर्नु अनि फेरि जे छ त्यसैमा रमाउनु यही त हो जिन्दगी।
जिन्दगी त पूरै समयकै कैदमा हुँदो रहेछ, यहाँ केही पल मात्र खुलेर जिउन मिल्दो रहेछ। त्यसैले मलाई जिन्दगी एक कथा जस्तै लाग्छ । जति पाना पल्टायो उति अधुरो लाग्छ, उति अपुरो लाग्छ।
तर जिन्दगी कहिले चर्को घाम, कहिले शीतल छायाँ, कहिले जंगल, भिर, पाखा त कहिले बिरानो बस्ती हुँदै; कहिले आफैँमा रमाउँदै, कहिले आफूमा हराउँदै, कहिले हरेक किस्सालाई आफ्नो बनाउँदै, आफ्नै बाटो हुँदै उकालो लागिरहन्छ।
जिन्दगी र समय कहिल्यै कसैलाई पर्खँदैन। त्यसैले कोही छुट्छन् पछाडि, कोही बढ्छन् अगाडि, कोही पुग्छन् गन्तव्यमा, कोही अलमलिन्छन् गोरेटोमै, कोही टुट्छन्, कोही सम्हालिन्छन् । तर चलिरहन्छ जिन्दगानी। यो जिन्दगीका किस्साहरु मात्र एक रहस्यमय कहानी ।
लेखक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ निवासी हुन् ।
तपाईंसंग पनि लेख, रचना छ भने हामीलाई मेल गर्नुहोस् । [email protected]