कांग्रेस बाराका पदाधिकारी जिल्ला सभापतिसंग रुष्ट, पार्टी एकलौटी चलाएको आरोप


eShilalekh

४ बैशाख २०७९, आईतवार २०:३२


सिमरा: नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराका पदाधिकारी पार्टी नेतृत्वसंग रुष्ट देखिएका छन् । जिल्ला सभापतिमा निर्वाचित राजेश राय यादवले पार्टी एकलौटी ढंगले चलाएको भन्दै पदाधिकारी रुष्ट देखिएका हुन् ।

कांग्रेसको जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीले आईतवार संयुक्त विज्ञप्ती जारी गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख समेत रहेका सभापति यादवले आफूहरुलाई वेवास्था गरेर पार्टी संचालन गरिरहेको उल्लेख गरेका छन् ।

कांग्रेस बाराका पदाधिकारीले निकालेको संयुक्त प्रेस विज्ञप्ती ।

जिल्ला सभापतिको कार्यशैलीबाट असन्तुष्ट रहेको भन्दै जिल्ला उपसभापतिद्धय मनोज भट्ट र अमिरीलाल राउत पाल, सचिव भैयाराम यादव, राजेश रौनियार, सहसचिव प्रमोदप्रसाद यादव र कृष्णदेव प्रसाद जैसवालले संयुक्त विज्ञप्ती निकालेका हुन् ।

सभापति यादवले जिल्ला कमिटीसंग छलफल र सहकार्य नै नगरी आफ्नो खुशीले पत्राचार गर्ने र पार्टीको गतिविधि संचालन गरेको उनिहरुको भनाई छ । कांग्रेस बाराका सचिव यादवले सभापति एकपक्षीय ढंगले अघि बढेका कारण आफूहरुले विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको बताए ।

‘पार्टी सभापति एकपक्षीय ढंगले अघि बढ्नुभयो । हामी पदाधिकारीसंग सामान्य छलफल समेत नगरी पार्टी गतिविधि संचालन भईरहेको छ’ यादवले इशिलालेखसंग भने ‘हामीले त्यसैको विरोध गरेका हौ । यो ढंगले पार्टी संचालन हुनुहुदैन् ।’

स्थानीय तहको निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यालयले जिल्ला, नगर र वडामा पार्टी नेतृत्वलाई सक्रिय बनाएर अघि बढ्न निर्देशन दिएपनि सभापतिले आफ्नो मनोमानी ढंगले काम गरेको यादवको आरोप छ । सभापति यादवले जिल्लाको पदाधिकारीसंग सामान्य छलफल समेत नगरेर आफै पत्राचार गर्ने, प्रतिनिधि खटाउनेलगायतको काम गरेपछि उक्त कार्यशैलीको विरोधमा विज्ञप्ती आएको सचिव यादवले बताए ।

‘जिल्ला अधिवेशन सम्पन्न भएको एक महिना भन्दा बढी समय वितिसकेको छ । अहिलेसम्म एउटा बैठक समेत बस्न सकेको छैन’ यादवले भने ‘यो तरिकाले पार्टी चल्न सक्दैन् । हामी यो कार्यशैलीको विरोधमा छौ, नेतृत्वको ध्यानाकर्षण होस् ।’

पार्टी नेतृत्व सच्चिन आवश्यक रहेको भन्दै यादवले सहकार्य र छलफल गरेर अघि बढ्नुपर्ने बताए । निर्वाचनको समयमा पार्टी, भातृसंगठन र शुभेच्छुकलाई सक्रिय बनाएर अघि बढ्नुपर्ने बेलामा सभापति एक्लैले पार्टी गतिविधि अघि बढाउनु गलत रहेको सचिव यादवको भनाई छ । यादवले अधिवेशन सम्पन्न भएको लामो समय वितिसक्दा समेत सभापति बाहेक अन्यको पदभार ग्रहण गर्ने काम नभएको बताए ।

‘हामी पदाधिकारीमा निर्वाचित भयौ । अहिलेसम्म पदभार समेत ग्रहण गरिएको छैन्’ यादवले भने ‘तर सभापतिले भने आफू एक्लै पदभार ग्रहण गर्नुभएको कुरा सामाजिक संजालबाट थाहा पायौ । हामीलाई जानकारी समेत दिनुभएन् । सुरु देखिनै वेवास्था गरेर हिड्नुभएको छ । त्यसैले आज विरोध गर्न बाध्य भयौ ।’

प्रतिक्रिया दिनुहोस्