माओवादी केन्द्र: जीतपुरसिमराको प्रमुखमा आठ, उपप्रमुखमा चार आकांक्षी


eShilalekh

४ बैशाख २०७९, आईतवार २१:४९

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नेकपा माओवादी केन्द्रमा १२ जना आकांक्षी देखिएका छन् । उम्मेदवारको छनौटको लागि आईतवार बसेको बैठकमा केन्द्रबाट प्रमुखमा आठ र उपप्रमुखमा चार जनाले आकांक्षा देखाएका हुन् ।

माओवादी केन्द्रबाट प्रमुख पदका लागि राजन पौडेल, क्षेत्रबहादुर श्रेष्ठ, जयाराम दाहाल, रामशरण बर्तौला, गिता कंडेल, शिला खनाल, धनबहादुर श्रेष्ठ र रामराज चौधरीले दावी प्रस्तुत गरेका हुन् । पौडेल अघिल्लो स्थानिय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवार थिए ।

प्रमुख पदका लागि दावी प्रस्तुत गर्नेमध्ये दाहाल संविधान सभाका सदस्य, श्रेष्ठ माओवादी केन्द्र बाराका अध्यक्ष, बर्तौला निर्वाचित वडाध्यक्ष हुन् ।

यसैगरी उपप्रमुखमा प्रेम बराल, क्यामुदिन मंसुरी, रोमा चौधरी र शिवशंकर चौधरीले दावी प्रस्तुत गरेका छन् । बराल माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष र मंसुरी जीतपुरसिमरा २३ बाट निर्वाचित वडासदस्य हुन् ।

बैठकमा प्रमुख र उपप्रमुख पदका लागि आकांक्षी धेरै देखिएपछि छलफल गरेर प्रदेशमा सिफारिस गर्ने नगर कमिटी अध्यक्ष बरालले जानकारी दिए ।

यसैगरी बैठकले निर्वाचनलाई केन्द्रीत गर्दै अर्जुन चिमरियाको संयोजकत्वमा पाँच सय ५१ सदस्यीय प्रचार प्रसार समिति, श्यामसुन्दर पासवानको संयोजकत्वमा ३१ सदस्यीय आर्थिक समिति, बेनीप्रसाद तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कार्यालय समन्वय समिति गठन गरेको बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्