जीतपुरसिमराको नगर सभा पुनः स्थगित, सहमती जुटाएर अर्को सभा बोलाईने
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार बोलाइएको बैठक गणपुरक संख्या नपुगेको कारण देखाउदै स्थगित गरिएको हो ।
नगर प्रमुख राजन पौडेलले नगर सभा स्थगित भएको घोषणा गरेका थिए । सभा स्थगित गर्ने क्रममा पुनः अर्को सभा बोलाउने बताएका छन् ।
निति तथा कार्यक्रम र वडा सिलिङ कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि मात्रै नगर सभामा जानुपर्ने नगर कार्यपालिका सदस्यले राख्दै आएको मागलाई सम्बोधन गर्न सभा स्थगित गरिएको हो । यसअघि सिमरामा बसेको बैठकले सभा स्थगित गरेर अघि बढ्ने निर्णय गरेको थियो ।
नगर प्रमुख, उपप्रमुखसहित सबै दलबाट निर्वाचित एक-एक जना वडाध्यक्षको छलफलले अब बस्ने कार्यपालिका बैठकबाट निति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल गर्ने र निकास निकाल्ने सहमति गरेको थियो ।
कार्यपालिका बैठकबाट अनुमोदन गरेर नगर सभामा जाने सहमती भएको र सोही बमोजिम नगर सभा स्थगित गरिएको नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि असार १० गते बोलाइएको सभा पनि गणपूरक संख्या नपुगेको कारण देखाउदै स्थगित गरिएको थियो ।