यसरी समातिए मोटरसाईकल चोरी गर्ने गिरोह..


eShilalekh

२५ श्रावण २०७९, बुधबार १०:१५

कलैयाः मोटरसाईकल चोरीमा सक्रिय रहेको एउटा गिरोहलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारामा मोटरसाईकल चोरी गरि अन्यत्र जिल्लामा लगेर बिक्री गर्न सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६ जना रहेका छन् । उनिहरु सबै पचरौता नगरपालिका वडा नं. ७ स्थित बेनौली टोलका हुन् । एउटै टोलका उनिहरु समुह बनाएर मोटरसाईकल चोरीमा सक्रिय रहेका थिए । उनिहरुले चोरेर बिक्री गरेको १२ वटा मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा बनौलीका २० वर्षीय बृजमोहन साह सोनार, २० वर्षीय बिजय पटेल, २४ वर्षीय हरिनारायण पटेल, २३ वर्षीय बरक सहनी, २१ वर्षीय बिशालकुमार सहनी र २० वर्षीय भोला पटेल रहेका छन् । उनिहरुलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको हो ।

मोटरसाईकल चोरी गर्ने गिरोह समातिएको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मोटरसाईकल चोरीको घटनामा प्रहरीलाई ठुलो सफलता मिलेको बताए । प्रहरी उपरीक्षक बोगटीका अनुसार साउन १९ गते बरियारपुरबाट मोटरसाईकल चोरी गरेर भाग्ने क्रममा पक्राउ परेका दुई जनाबाट प्रहरी गिरोहसम्म पुगेको हो ।

बरियारपुरबाट दुई वटा मोटरसाईकल चोरी गरेर भाग्दै गर्दा प्रहरीले बिशालकुमार र भोलालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुबै जनाको बयानका आधारमा प्रहरीले गिरोह समात्न सफल भएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

‘सुरुमा हामीले दुई जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढायौ’ प्रहरी उपरीक्षक बोगटीले भने ‘उनिहरुकै बयानले हामी गिरोहसम्म पुग्यौ ।’ बोगटीका अनुसार यही समुहमा सक्रिय अन्य चार भने फरार रहेका छन् ।

पक्राउ परेका गिरोहका नाईके भने बृजमोहन रहेको प्रहरीको भनाई छ । अघिल्लो वर्ष मोटरसाईकल चोरी मुद्धामा पक्राउ परी धरौटीमा रिहा भएका बृजमोहन पुनः सक्रिय भएको प्रहरी उपरीक्षक बोगटीले बताए । अदालतबाट धरौटीमा रिहा भएलगत्तै स्थानीय युवाको समुह बनाएर संगठितरुपमा चोरीमा सक्रिय रहेको र हालसम्म उनले दुई सय भन्दा बढी मोटरसाईकल चोरी गरेर बिक्री गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक बोगटीले बताएका छन् ।

मोटरसाईकल चोरी मुद्धामा अदालतबाट सामान्य धरौटीमा रिहा हुने भएका कारण पनि जिल्लामा मोटरसाईकल चोरीको घटना बढ्दो अवस्थामा रहेको छ । सामान्य धरौटी तिरेर रिहा भएका बृजमोहन पुनः संगठित हुनु फितलो कारवाही प्रक्रियाको उदाहरण समेत हुन् । अदालतबाट धरौटीमा रिहा भएका बृजमोहन सर्लाहीलाई सेल्टर बनाएर बारामा मोटरसाईकल चोरी गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

‘मुख्य नाईके बृजमोहन सर्लाही बस्ने र बारामा समुह परिचालन गरेर मोटरसाईकल चोरी गर्ने गरेको पाईयो’ प्रहरी उपरीक्षक बोगटीले भने ‘चोरी गरिएका मोटरसाईकल सर्लाही, रौतहट र नेपाली सिमामा जोडिएको भारतीय क्षेत्रमा पुर्‍याउने गरेका रहेछन् ।’
प्रहरी उपरीक्षक बोगटीले अनुसन्धानका क्रममा जिल्लामै मोटरसाईकल चोरीमा सक्रिय अर्को गिरोहको समेत पहिचान भईसकेको बताएका छन् । प्रहरी उपरीक्षक बोगटीले अर्को गिरोहलाई पक्राउ गर्न गरी छिट्टै सार्वजनिक गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्