खेलाडीले मन्त्रीसंग मागे पूर्वाधार र प्रशिक्षक
सिमराः विभिन्न खेलमा आवद्ध खेलाडी र संघका पदाधिकारीले खेलकुदका लागि पूर्वाधार निर्माण गरिदिन युवा तथा खेलकुद मन्त्री महेश्वर चन्द गहतराजसंग अनुरोध गरेका छन् ।
निर्माधिन सिमरा रंगशालाको अवलोकन गर्न आएका मन्त्री गहतराजसंग सिमरा ईन होटलमा गरिएको अन्तक्रियात्मक कार्यक्रममा खेलाडी र पदाधिकारीले पूर्वाधारको माग गरेका हुन् ।
स्थानीय स्तरको सहयोग र आफ्नै प्रयासमा खेलकुद गतिविधिलाई निरन्तरता दिदै आएका कराते, क्रिकेट, ब्याडमिन्टन, भलिबल, एथलेटिक्स, साईक्लिङलगायतको खेलका खेलाडी र पदाधिकारीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । पूर्वाधार अभावमा खुल्ला आकाशमुनी खेल्न बाध्य रहेको भन्दै उनिहरुले पूर्वाधार निर्माणका लागि पहल गर्न आग्रह गरे ।
करातेका सानु पटेल, साईक्लिङका शेषराज अधिकारी, क्रिकेटका समिन बिष्ट, ब्याडमिन्टनका रामकृष्ण श्रेष्ठ, भलिबलका खुशी चौधरी, एथलेटिक्सका रामप्रित चौधरीलगायतले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनिहरुमध्ये केही खेलाडीले प्रशिक्षकको समेत अभाव भएको र प्रशिक्षक नहुँदा विभिन्न प्रतियोगितामा सहभागिता समेत जनाउन नसकिएको दुःखेसो पोखेका थिए ।
उक्त कार्यक्रममा मधेस प्रदेशका सांसद सुन्दर विश्कर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न मन्त्रीलाई आग्रह गरेका थिए । सिमरा रंगशालाको पूर्वाधार निर्माण सम्पन्न भए विभिन्न खेलकुद गतिविधिलाई ईनडोर गर्न सकिने भन्दै नगर प्रमुख पौडेलले रंगशालाको निर्माणको कामलाई बहुवर्षीय योजना बनाएर बजेट अघि बढ्न मन्त्री गहतराजको ध्यानाकर्षण गराए ।
कार्यक्रममा मन्त्री गहतराजले सिमरा रंगशालाको पूर्वाधार निर्माणका लागि सहयोग गर्न आफूले प्रयास गर्ने बताए । देशकै खेलकुद क्षेत्रको विकासका लागि पनि सिमरा रंगशाला महत्वपूर्ण रहेको भन्दै मन्त्री गहतराजले अर्थमन्त्रालयसंग बजेटका लागि पहल गर्ने प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा मधेस प्रदेशकी सांसद सिता गुरुङ, संविधान सभाका सदस्य जयराम दहाल, नेकपा माओवादी केन्द्रका नेता अनिल श्रेष्ठ, एकिकृत समाजवादीका नेता दिनेश राई, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्याल, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, खेल क्षेत्रका संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
मन्त्री गहतराजलाई नव जनजागृति युवा क्लबका अध्यक्ष लामाले जीतपुरसिमरा गोल्डकप र सिमरा रंगशालालाई संघीय सरकारको योजनामा राख्नका लागि अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । कार्यक्रमको सहजीकरण नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीले गरेका थिए ।