अमलेखगंजमा विद्यार्थीलाई छात्रवृत्ति र शिक्षकलाई सम्मान कार्यक्रम सम्पन्न
सिमराः अमलेखगंजस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट २०५५ सालमा प्रवेशिका परिक्षा (एसएलसी) उतिर्ण गरेका विद्यार्थीको समुहले छात्रवृत्ति वितरण तथा शिक्षक सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
रचनात्मक क्रियाकलापका लागि संगठित पूर्व विद्यार्थीको समुहले स्वर्गीय सहपाठी प्रदीप बल र अमृत कार्कीको स्मृतिमा छात्रवृति र शिक्षक सम्मान कार्यक्रम आयोजना गरेको हो ।
स्वर्गीय सहपाठीको सम्झनामा आफूहरु अध्ययन गरेकै विद्यालयमा कक्षा १० मा पढ्ने एक छात्र र एक छात्रालाई छात्रवृति वितरण गरेको कार्यक्रम संयोजक चुडामणी खरेलले जानकारी दिए । उक्त कार्यक्रममा २०५५ सालमा अध्यापन गराउने पूर्व शिक्षक र शिक्षिकालाई समेत सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा स्वर्गीय बल र कार्कीसहित शिक्षक नवलप्रसाद सिंहको परिवारका सदस्य र विद्यालयमा हाल अध्यापन गराईरहेका शिक्षकलाई समेत सम्मान गरिएको खरेलले जानकारी दिए । कार्यक्रममा लिटिल एन्जल्स ईङलिस स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
पूर्व विद्यार्थी ज्ञानराज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक प्रध्यानाध्यापक स्वर्गीय सिंहकी पत्नी रानीदेवी सिंह, जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह, विद्यालयका प्रध्यानाध्यापक दिनेश लामिछाने, पूर्व शिक्षक रामप्रसाद अधिकारी, प्रदिप गुप्ता, मनोज साह, विशाल साह, भुपेन्द्र दहाल, कृष्णदेब चौधरी, गगनदेव सिंह, गिता थापालगायत सहभागी थिए ।