निजगढ नगरपालिकाको तालाबन्दी खोल्न राप्रपाको ज्ञापन
सिमराः प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर निजगढ नगरपालिकामा भएको तालाबन्दी खोल्न राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ ।
तालाबन्दीका कारण नगरपालिकाबाट प्रदान हुने सेवा प्रभावित भएको भन्दै राप्रपाले ७२ घण्टाभित्र तालाबन्दी खोल्न ज्ञापनपत्र बुझाएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटालाई भेटर राप्रपाका नेताकायर्कताले ज्ञापनपत्र बुझाएका हुन ।
प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको विषयलाई लिएर विगत १४ दिनदेखी नगरपालिकामा भईरहेको विवादले नगरको हित नगर्ने भन्दै राप्रपाले ताला खोलेर सेवा सुचारु गर्न माग गरेको छ । राप्रपाले ज्ञापनपत्रमार्फत ताला खोलेर तत्काल सेवा सुचारु नगरिए ७२ घण्टापछि तालाबन्दी आफैले खोल्ने चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझाउन राप्रपाका केन्द्रीय सदस्य विनोद भारती, केन्द्रीय कार्य सम्पादन समितिकी पूर्वसदस्य सावित्री भारती, राप्रपा मधेस प्रदेश सदस्य बासुदेव तिमल्सिना, राप्रपा बारा क्षेत्र नम्बर १ (क) का अध्यक्ष भक्त दर्लामीलगायतको उपस्थिति रहेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ११ गते प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको र त्यसको केही दिनमै पुनः निजगढमै बस्ने गरी थमौती पत्र दिएपछि विवाद सुरु भएको हो । करिब दुई वर्षदेखी निजगढमा कार्यरत कार्कीलाई मन्त्रालयले पचरौता नगरपालिका सरुवा गरी निजगढमा हरिलाल पुरीलाई खटाएको थियो । तर केही दिनमै पुरीलाई पुनः मन्त्रालय तान्दै कार्कीलाई निजगढमा बस्नेगरी थमौती दिएपछि सरुवाको विषयले नगरपालिका प्रभावित बनेको हो ।
मन्त्रालयको निर्णय बमोजिम निजगढमा उपस्थित हुदै हाजिर गरेका पुरीलाई मन्त्रालय तानेर पुनः कार्कीलाई नै थमौती पत्र दिनु अपरिपक्क निर्णय गरिएको नगर प्रमुख पुरीको भनाई छ । मन्त्रालयले उक्त निर्णय सच्याउनुपर्ने भन्दै पुरीले कार्कीलाई हाजिर गर्न रोक लगाउदै आएका छन् । नगर प्रमुखले कार्कीलाई हाजिर गर्न रोक लगाएसंगै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएर राखिएको छ ।
यता कार्कीलाई हाजिर गर्न रोक लगाएको र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको भन्दै गठबन्धनबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्य नगर प्रमुखको विरोध गर्दै आएका छन् । कार्कीलाई तत्काल हाजिर गराउनुपर्ने गठबन्धन दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यको माग छ । तर नगर प्रमुख पुरीले कार्कीलाई हाजिर गर्न नसकिने अडान लिएपछि वडाध्यक्ष र कार्यपालिका सदस्यले नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।