कांग्रेस बाराको कोषाध्यक्षमा चौधरी मनोनित


eShilalekh

१ भाद्र २०७९, बुधबार २०:२४

कलैयाः नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराको बैठकले कोषाध्यक्षमा बासु प्रसाद चौधरीलाई मनोनित गर्ने निर्णय गरेको छ । कलैयास्थित बिपि स्मृत भवनमा बुधवार बसेको बैठकले चौधरीलाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला कार्यसमिति सदस्य कलावती पासवान, सुनैना देवी कलवार, चिन्तादेवी यादव, वीरेन्द्र यादव, र मुकेश कुशवाहालाई जिल्ला संसदीय समितिको सदस्यमा मनोनित गर्ने निर्णय समेत गरेको छ । बैठकले जिल्ला सभापतिलाई विभिन्न अधिकारसहितको जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिल्लामा पार्टी अन्तर्गतको समिति र शाखा गठन गर्न, मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा पार्टीको उम्मेदवार छनौट गर्न पार्टीको विधान र नियमावली अनुसार उम्मेदवारको नाम प्रस्तावित र सिफारिस गर्न बस्ने बैठकमा प्रतिनिधी खटाउने जिम्मा जिल्ला सभापति यादवलाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकले जिल्ला कार्यसमितिले गरेका निर्णय कार्यान्वयन नगर्ने मातहतको निकाय र सम्बन्धित व्यक्तिलाइ अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यसहित कांग्रेसका केन्द्रीय नेतासमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्