बारा क्षेत्र नं. ४ (क) मा एमालेबाट पौडेलसहित आठ जनाको नाम सिफारिस
सिमरा: बारा क्षेत्र नं. ४(क) बाट प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेबाट मनोज पौडेल (चन्द्रलाल) सहित आठ जनाको नाम सिफारिस भएको छ ।
सिमरास्थित जिफन्ट कार्यालयमा शनिबार सप्पन्न भेलाले पौडेलसहित अमृतलाल श्रेष्ठ,कासिम हुसेन, देवी सापकोटा, रविन्द्र खकुरेल, अनिलकुमार साह, जयकिशोर राउत र भरत घलेको नाम सिफारिस गरेको हो ।
भेलामा सहभागी अधिकांश प्रतिनिधिले पौडेलको नाम सिफारिस गर्न सहमति दिएका थिए । पौडेलको नाममा अधिकांशले समर्थन जनाएपनी अन्य इच्छुक आकांक्षीको नाम समेत समेटेर सिफारिस गरिएको हो ।
जिल्ला कमिटीमा सिफारिस गरिएका मध्ये एमाले जिल्ला सचिवालय सदस्य पौडेललाई `हेभिवेट´ उम्मेदवारको रुपमा हेरिएको छ । यसअघि पौडेलले स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा दावी प्रस्तुत गरेका थिए ।
मेयर पदमा टिकट नपाएपनि उपमहानगरपालिकाको निर्वाचन परिचालन कमिटीको संयोजक भएर सक्रियता देखाएका कारण पौडेललाई पछिल्लो समय प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा चर्चा गर्न थालिएको थियो ।
यसैगरी भेलाले समानुपातिकतर्फ दिनेश्वर ठाकुर, कमला घिमिरे, सुभद्रा न्यौपाने, भावना आचार्य, रमेश चौधरी, गितादेवी घले, कमलेश झा, ममता देवी पाल, आनन्द थामी, मन्जु थापामगरको नाम सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटी उपसचिव अमृत शर्मा बजगाईको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
यसैगरी बारा क्षेत्र नं. ३(क) बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । डुमरवाना सम्पन्न भेलाले राधेश्याम सिवाकोटी, रविनदास श्रेष्ठ, अशोक लामा, रेवन खातुनको नाम सिफारिस गरिएको हो । भेला जिल्ला उपसचिव भुलन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी पर्सौनामा सम्पन्न भेलाले बारा क्षेत्र नं. १(क) बाट एकबहादुर श्रेष्ठ, अम्बिका चौलगाई, त्रिलोकि चौधरी, रामकृष्ण घिमिरे, केवल चौधरी, ढुण्डिराज उप्रेती, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
यस्तै समानुपातिकतर्फ लिलादेवी लामिछाने खनाल, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।