पथलैयाबाट जीतपुरसिमरा उपमहानगरमा सारियो निर्वाचन अधिकृतको कार्यालय
सिमराः मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिकामा सारिएको छ ।
पथलैयास्थित स्वास्थ्य तालिम केन्द्रमा बिहिवार उद्घाटन गरिएको निर्वाचन अधिकृतको कार्यालय उपमहानगरपालिकाको कार्यालयमा सारिएको हो । निर्वाचन आयोगले क्षेत्र नं. ४ का लागि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय तोकेपनि कोठाको अभावका कारण स्वास्थ्य तालिम केन्द्रमा स्थापना गरिएको थियो ।
पथलैयामा कार्यालय स्थापना गरिएको भोलीपल्ट उपमहानगरपालिकाले कोठा उपलब्ध गराएपछि कार्यालयलाई जीतपुर सारिएको हो । उपमहानगरपालिकामा स्थापना गरिएको कार्यालयको नगर प्रमुख राजन पौडेलले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा निर्वाचन अधिकृत कर्णबहादुर राई, ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, वडाध्यक्ष भोजबहादुर खत्रीलगायतको उपस्थिती रहेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित सात जना कर्मचारी खटिएका छन् । कार्यालयमा सहायक निर्वाचन अधिकृत सागर भण्डारी, सहायक कर्मचारी सन्तोष चौधरीसहित कम्प्युटर अपरेटर, लेखापाल र कार्यालय सहयोगी छन् । कार्यालयको सुरक्षार्थ सात जना सशस्त्र प्रहरी खटिएका छन् ।