निजगढका वडाध्यक्षमाथी नाबालिग किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप, पीडितले दिए जाहेरी


eShilalekh

२५ आश्विन २०७९, मंगलवार २३:०७

सिमराः निजगढ नगरपालिका वडा नं. २ का वडाध्यक्षविरुद्ध नाबालिग किशोरीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेको छ । १६ वर्षीया नाबालिग किशोरीका अभिभावकले मंगलवार साँझ वडाध्यक्षविरुद्ध निजगढस्थित ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।

किशोरीकी आमाले प्रहरी कार्यालय पुगेर वडाध्यक्षविरुद्ध दिएको किटानी जाहेरीमा दसैंको टिकाको दिन असोज १९ गते घटना भएको उल्लेख गरेकी छिन् । जाहेरी दिने क्रममा अभिभावकसंगै किशोरी समेत प्रहरी कार्यालय पुगेकी थिईन् ।

वडाध्यक्षले दसैंको टिकाको राती साढे आठ बजे आफ्नै घरमा किशोरीमाथी यौनजन्य दुर्व्यवहार गरेको किशोरीकी आमाको आरोप छ । वडाध्यक्षले यसअघि पनि पटकपटक यौन दुर्व्यवहारको प्रयास गरेको र टिकाको दिन किशोरीमाथी जबरजस्ती यौनजन्य गतिविधि गरेपछि न्यायका लागि उजुरी दिएको पीडित परिवारको भनाई छ ।

पीडित अभिभावकका अनुसार किशोरी र छिमेकी वडाध्यक्षको भान्जी सानो देखिका साथी हुन् । दसैंको टिकाको दिन वडाध्यक्षको भान्जीले नयाँ मोबाईलमा टिकटक आईडी बनाईदिनका लागि बोलाएका कारण किशोरी साँझ उनको घरमा गएकी थिईन् । घर छेउमै रहेको वडाध्यक्षको घरमा किशोरी पुग्दा उनको साथी थिइनन् । साथीलाई उनको कोठामा नभेटेपछि किशोरीले बोलाउन थालेको र सोही समयमा वडाध्यक्षले पछाडीबाट समाउदै आफ्नो कोठमा लगेको जाहेरीमा उल्लेख छ ।

वडाध्यक्षले कोठमा लगेर किशोरीको सहमती विपरित यौनजन्य गतिविधि गरिरहेको अवस्थामा उनको श्रीमती घरभित्र आएको आवाज सुनेलगत्तै वडाध्यक्षले किशोरीलाई छोडेको विवरण जाहेरीमा खोलिएको छ । वडाध्यक्षले जबरजस्ती यौन दुर्व्यवहार गरेको कुरा किशोरीले रुदै आफूलाई सुनाएको र त्यसपछि कानुनी बाटो रोजेको आमाको भनाई छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले वडाध्यक्षविरुद्ध कार्यालयमा किटानी जाहेरी दर्ता भएको र जाहेरीलाई आधार मान्दा किशोरीमाथी जबरजस्ती करणी भएको देखिएकाले वडाध्यक्षलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्