राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धिमालको आरोपः खानेपानी मन्त्री चौधरीले धम्क्याए


eShilalekh

३१ आश्विन २०७९, सोमबार ०८:३७

सिमराः बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले आफूलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्की दिएको बताएका छन् ।

सोही क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका चौधरीले उम्मेदवारी फिर्ता गरेर आफूलाई सहयोग नगरे जे पनि हुने भन्दै धम्की दिएको धिमालले बताए ।

आफ्ना समर्थकसहित शनिवार राती ११ बजे घर आएर आमालाई उम्मेदवारी फिर्ता गराउन आग्रह गर्दै उम्मेदवारी फिर्ता नलिए जे पनि हुन सक्ने भन्दै धम्क्याएपछि आफू त्रसिद भएको धिमालको भनाई छ ।

‘राती हुल बाधेर मेरो घरमा आउनुभयो, सुरुमा आमालाई भेटेर पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएर सघाउन आग्रह गर्नुभयो’ धिमालले भने ‘उम्मेदवारी फिर्ता नलिए म त केही गर्दिन तर मेरो केटाहरुले जे पनि गर्न सक्छ है भनेर धम्क्याउनु भयो ।’

मन्त्री चौधरीले घरमै आएर धम्की दिएको विषयमा आफूले विभिन्न राजनीतिक दलका नेता र उम्मेदवारलाई समेत जानकारी गराएको धिमालले जानकारी दिए । चुनावको समयमा घरमै आएर धम्की दिनु निर्वाचन आचारसंहिता विपरित समेत रहेकाले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको धिमालले बताए ।

धिमाल कांग्रेस मधेस प्रदेश समितिका सदस्य थिए । कांग्रेस छोडेर उनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्